close

फुङलिङका विद्यालयहरूमा सर्तसहितको नयाँ प्रावधान

फुङलिङका विद्यालयहरूमा सर्तसहितको नयाँ प्रावधान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्षबाट नगर क्षेत्रका विद्यालयहरूमा आर्थिक अनुशासन कायम गर्न आव समाप्त भएको २ महिनाभित्र आयव्यय विवरण सार्वजनिक गर्र्नैपर्ने नियम बनाएको छ । दसैं बिदा सकिएलगत्तै नगर शिक्षा समितिले यस्तो नियम कार्यान्वयनमा लैजाने गरी प्रक्रिया अघि बढाएको हो ।


चालू आवका लागि प्रस्तुत नीति कार्यक्रममा नगर क्षेत्रका बिद्यालयको गुणस्तर सुधारका लागि नगर शिक्षा समितिलाइ कार्यविधि बनाई कार्यान्वयनमा लैजान सक्ने अधिकार प्रत्यायोजन गरिएको थियो ।


नगरप्रमुख छत्रपति प्याकुरेलले नगर क्षेत्रका सबै विद्यालयमा आर्थिक अनुशासन कायम गर्न अब आव समाप्त भएको २ महिनाभित्र सम्बन्धित विद्यालयले अनिवार्य रुपमा आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने बताए ।

 

‘सम्बन्धित अभिभावक तथा स्थानीय जनताले प्रस्ट रुपले बुझ्ने गरी आयव्यय विवरण सार्वजनिक गर्नुपर्नेछ’, उनले भने । प्याकुरेलले नगर शिक्षा शाखाको संयोजनमा आम्दानी तथा खर्चको विवरण सार्वजनिक भए÷नभएको अनुगमन गर्ने र नभए दण्डित गर्ने प्रावधान रहेको जानकारी दिए । विद्यालयको शैक्षिक सुधारका लागि नियमित अनुगमनको व्यवस्था गरिनेछ ।

 

नगरपालिकाले सञ्चालन गर्न अनुमति प्राप्त गरेका तर आवश्यक दरबन्दीको व्यवस्था नभएका प्रस्तावित विद्यालयलाई शैक्षिक अनुदान उपलब्ध गराउनेछ । शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन पुस्तकालय, प्रयोगशाला स्थापना हुन बाँकी रहेका बिद्यालयहरूमा प्रयोगशाला र ई–पुस्तकालय बनाउन सहयोग गर्नेछ ।

 

पुस्तकालय र ई–पुस्तकालय तथा प्रयोगशाला भए/नभएका बिद्यालयहरूको तथ्यांक संकलन भइसकेको र यसै साताभित्र नगर शिक्षा समितिमा पेस हुने नगरपालिकाका शिक्षा अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।