close

जलजलाबासीलाई कोरोना लागे २५ हजार रुपैयाँ हातहातै

जलजलाबासीलाई कोरोना लागे २५ हजार रुपैयाँ हातहातै

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दी सदरमुकाम बेनी बजारसँग सीमा जोडिएको पर्वतको जलजला गाउँपालिकाले कोरोना संक्रमितलाई उपचार खर्च सहयोग गर्ने भएको छ । 


समुदाय स्तरमा कोरोना परीक्षण गर्न ‘एक घर, एक पिसीआर’ को अवधारणा अघि सारेको जलजलाको लामाखेतस्थित कार्यालयमा बिहीबार बसेको कार्यपालिका बैठकले संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको हो । 


परीक्षणका क्रममा पहिचान भएर जटिल अवस्थाका अस्पताल भर्ना हुनेलाई उपचार खर्चबापत प्रतिव्यक्ति १० देखि २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको कार्यपालिकाका प्रवक्ता देवेन्द्र भण्डारीले जानकारी दिए । 


‘लक्षण नदेखिएका संक्रमितको होम आइसोलेनमा राखेर उपचार गर्ने र अस्पताल भर्ना हुनुपर्नेका लागि उपचार खर्च उपलब्ध गराउने निर्णय भएको छ’, उनले भने, ‘अस्पताल भर्ना हुन धरौटी राख्न, उपचार गर्न नसक्ने विपन्न र गरिब समुदायका नागरिकका लागि लक्षित गरेर यस्तो व्यवस्था मिलाएका हाै‌ ।’ 


गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले एक घर एक पिसीआर जाँचको अवधारणा अघि सार्दै पालिकाबासीलाई सुविधा दिइएको बताए  । आउँदो आइतबारदेखि बेनीबाट एक घर एक पिसीआर जाँच अभियान सुरु गरिने गाउँपालिकाले जनाएको छ । 


जलजलाका जनप्रतिनिधिले प्रदेश सरकारको कानुनअनुसार दसैं भत्ताबापत पाउने सुविधाको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य र गाउँसभा सदस्य गरी ४७ जनाको दशै‌ भत्ता कोरोना कोषमा जम्मा गरिने प्रवक्ता भण्डारीले जानकारी दिए । 


गाउँपालिका अध्यक्ष मल्लले आफू संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताए । यसअघि गाउँपालिकाका करिब ५ सयको पीसीआर परीक्षण गरिसकिएको छ ।


तत्काल ५ शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेसनलाई जनस्वास्थ्य मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । अध्यक्ष मल्ल कोरोना जितेर दशै‌अघि घर फर्किएका थिए ।