close

फैलिँदाे काेराेना संक्रमणले खोटाङका सरकारी कार्यालय ठप्प

फैलिँदाे काेराेना संक्रमणले खोटाङका सरकारी कार्यालय ठप्प

Trulli
ADVERTISEMENT

खोटाङ- कोरोना संक्रमण फैलिएपछि खोटाङका विभिन्न सरकारी कार्यालय बन्द भएका छन् । जिल्लामै उच्च स्तरकै कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको हो ।

 

जिल्ला समन्वय प्रमुख बबी चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, डीएसपी नारायणप्रसाद चिमरिया र सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।


जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालगायत कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा ठप्प भएका हुन् ।बिहीबारदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म जिल्ला प्रशासनले शान्ति सुरक्षा र मुद्दाबाहेक अन्य सेवा बन्द गरेको छ । संक्रमित कर्मचारीको पिसीआर परीक्षणको दोस्रो रिपोर्ट नआएसम्म जिल्ला समन्वय समिति सिल गरिएको छ । 


यस्तै, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिसँगै रहेकाले मालपोत कार्यालयले सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले पनि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको जनाएको छ ।


डीएसपी चिमरिया तथा उनको सम्पर्कमा आएका सबै होम आइसोलेसनमा बसेका कारण जिल्ला प्रहरी कार्यालय भने सिल गरिएको छैन । ९ कात्तिकमा जिल्ला समन्वय समिति प्रमुख चाम्लिङ, प्रमुख जिल्ला अधिकारी पौडेल, डीएसपी चिमरिया र १० कात्तिकमा सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३८ पुगेको छ । जिल्ला अस्पताल खोटाङका डा. प्रवीण झाका अनुसार संक्रमितमध्ये ११ उपचारमा छन् भने २७ कोरोना जितेर घर फर्किसकेका छन् ।

 

दिक्तेल बजार बन्द


खोटाङका तीन सरकारी कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएलगत्तै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले माइकिङ गरेर दिक्तेल बजारमा किराना र औषधिबाहेकका सम्पूर्ण पसल बन्द गर्न आह्वान गरेको छ । 


दशैँमा मानिस चाडवाड मनाउन दिक्तेल बजारबाहिर गएका कारण पनि पसलहरू बन्द रहे । दशैँ सकिँदै जाँदा दिक्तेल बजार भित्रिएकाहरूले पसल बन्द गरेर कोरोना संक्रमण रोकथाममा सहयोग गरेका छन् । प्रहरीले नगरपालिकाको सूचनाअनुसार नै कडाइ गरिरहेको छ । 

 

यातायातमा पनि स्वास्थ्य सतर्कता 

 

दशैँ सकिनै लाग्दा यातायातमा भीडभाड देखिएको छ । पर्व मनाउन जिल्ला आएकाहरू पुनः कर्मथलोमा फर्कंदा यातायातमा चाप बढेको छ । तर, स्वास्थ्य सुरक्षा सतर्कतामा भने बेवास्ता गरिएको छ ।

 

कोरोना समुदाय स्तरमा फैलँदा यात्रु तथा यातायातका कर्मचारीले मास्कसमेत प्रयोग गरेको देखिँदैन ।