close

जर्मी गाउँमा एक गाग्रो पानीका लागि दिनभर घम्साघम्सी

जर्मी गाउँमा एक गाग्रो पानीका लागि दिनभर घम्साघम्सी

Trulli
ADVERTISEMENT

जुम्ला - पानी हरेक नागरिकका लागि आधारभूत आवश्यकता हो । नेपालको संविधानमै हरेक नागरिकको गाँस, बास र कपासको ग्यारेन्टी गरिएको छ ।


खानेपानीको समस्या जुम्लामा मात्र नभएर देशैभरका पालिकाहरूमा पनि छ । तर, जुम्लाको एक गाउँमा १ गाग्रो पानीका लागि दैनिक छरछिमेकबीच मारमुंग्री चल्ने गर्छ । १ सय ६० घरका लागि दैनिक ४ घन्टा मात्र धारामा पानी आउने गरेको छ ।

  
यहाँको तातोपानी गाउँपालिका- २ जर्मी गाउँमा हरेक दिन एक गाग्रो पानीका लागि एकआपसमा गृहणीबीच लुछालुछ हुने गरेको छ । गत १० कात्तिकको दसैंमा खुसी बाँड्ने, दुःख साट्ने दिनमै १ गाग्रो पानीका लागि विवाद हुँदा महिला- पुरुषबीच झडपै भयो । 


धारो सानो आउने, जनसंख्या बढी भएकाले पानी भर्न पालो कुनैपर्ने बाध्यता स्थानीयलाई छ । अघिपछि आएको भन्दै पालोमा कुरा नमिल्दा दसैंका दिन पानीका लागि हात हालाहालै भयो । 


यस्तै, १२ कात्तिक बिहान पनि धारामा पानी भर्ने क्रममै विवाद हुँदा २ बालबालिका पनि लडाइँमा उत्रिए । मागभन्दा आवश्यकता बढी भएपछि एक गाग्रो पानीका लागि कुटाकुट गर्नुपर्ने अवस्था नियमितजस्तै भएको एक स्थानीय बताउँछन् । 

 

पानीका लागि हात हालाहाल महिनाको ३/४ पटक भए पनि सामान्य भनाभन, एकअर्काबीच गालीगलौज भने हरेक दिन हुने गरेको स्थानीय वीर बुढाले बताए । उनले भने, ‘स्थानीय सरकार आएपछि अन्यत्रका घरघरमा धारा पुगेको सुनिन्छ तर हाम्रो गाउँमा हरेक दिन पानीका लागि लडाइँ हुन्छ । पानीकै लागि लडाइँ गर्ने चलन सामान्य भइसक्यो ।’

 


ताबाडा, दमाईबाडा र लहरबाडाका लागि १ धारो छ । १ गाग्री भर्न ३ देखि ५ मिनेट लाग्छ । एकै घरका ४÷५ भाँडा हुन्छन् । ‘अघिपछि आएको भन्ने विवादकै कारण हानाहानसमेत हुन्छ’, स्थानीय दत्त बुढा भन्छन् ।

 

अहिलेकै पानीलाई छुटाएर अर्काे धारा निर्माण गर्ने र सीमित समय पानी छोड्नुको विकल्प नरहेको उनको भनाइ छ । करिब १ सय ६० भन्दा बढी घरधुरी रहेको जर्मी गाउँमा ४ वटा मात्रै पानीका धारा छन् । १ घर १ धारा निर्माण गर्न नसके पनि वडा सरकारले जर्मी गाउँमा रहेका ६ टोलमा ६ धारा मात्रै निर्माण गरे समस्या समाधान हुने स्थानीय बताउँछन् । 


जर्मी गाउँका चारबाडा र दमाईबाडा, लहरबाडा गरी २  धारा तत्काल निर्माण गर्न स्थानीयले माग गर्दै आएका छन् । खानेपानी, सडक, सञ्चार, विद्युत्लगायतका क्षेत्रको विकास हुने आशमा रहेका दुर्गम गाउँका स्थानीय भने जुनसुकै सरकार आए पनि समस्या ज्यूँका त्यूँ भएपछि चिन्तित छन् । 

 


तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने चालू आर्थिक वर्षभित्रै जर्मी गाउँलगायत २  वडाका सबै घरमा पानी पुर्‍याउने लक्ष्यसहित काम भइरहेको बताउँछन् । उनले भने, ‘स्थानीय सरकारको पहिलो वर्षमै १ करोड विनियोजन गरी घरघरमा धारा पुर्‍याउने लक्ष्य थियो । तर, धौलिघाट बृहत् खानेपानी आयोजनाको पानी आएपछि डुब्लिकेसन हुन सक्ने भन्दै रोक्यौं । पानीको समस्या चुलिँदै गएपछि प्रदेश सरकारलाई माग गरेका छौं ।’

 

 

चालू आर्थिक वर्षभित्रै जर्मी गाउँलगायत २ नम्बर वडामा १ घर १ धाराका लागि पहिलो चरणमा ३० लाखको बजेट आएको अध्यक्ष न्यौपानेले जानकारी दिए । ‘प्रदेशबाट क्रमागत खानेपानी योजना परेको छ । चालू आर्थिक वर्षमै खानेपानी समस्या समधान गर्न वडा सरकारसँग समन्वय गरी अघि बढ्दै छौं’, उनले भने ।