close

घुम्न जाने हैन त थोलेदेम्वा ?

घुम्न जाने हैन त थोलेदेम्वा ?

Trulli
ADVERTISEMENT

ओखलढुंगा - सय पर्यटकीय गन्तव्य सूचिमा परेको ओखलढुंगाको प्रमुख पर्यटकीय गन्तव्य पदमार्गले जोडिएको छ । संघीय सरकारको अनुदानमा खिजीदेम्वा गाउँपालिकाले पदमार्ग निर्माण गरे पछि पर्यटक आवतजावतमा सहज भएको छ । 

 

थोलेदेम्वा ओखलढुंगाको सबैभन्दा अग्लो पर्यटकीय स्थल हो । समुद्र सतहबाट ३ हजार ३ सय ५० मिटर अग्लो देम्बाडाँडाबाट नेपालका अधिकांश हिमालहरु देख्न सकिन्छ भने मौसम खुलेको समयमा पूर्वमा धरान र काठमाण्डौं उपत्यकामा धरहरामा बालेको बत्ति पनि देखिने स्थानीयको भनाइ छ । भलै अहिले धरहरा पुननिर्माणको क्रममा छ ।

 

गत वर्ष सरकारले घोषणा गरेका १ सय गन्तव्यमा ओखलढुंगाका थालेदेम्वा र पोकली झरना परेका थिए । थोलेदेम्वा पिके हुँदै सगरमाथा आधार शिविर जाने पदमार्गमा पर्छ । हाल खिजिदेम्वा गाउँपालिकाको केन्द्र खिजिफलाटे नजिकैको चुप्लुभञ्ज्याङबाट देम्बाडाँडासम्म जाने ७ सय  २३ मिटर पद मार्ग निर्माण गरिएको हो । बाटोमा ढुंगा विच्याइएको छ । बाटोमा आरामका लागि २ वटा प्रतीक्षालय पनि निर्माण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए । 

 

गाउँपालिकाले संघीय सरकारबाट पाउने ५० लाख बजेटमध्ये पहिलो किस्ता वापतको २५ लाख लागतमा पदर्माग बनाएको हो । थोलेदेम्वा जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य भएको पर्यटन व्यवसायी पेम्वा शेर्पा बताउँछन् । शेर्पाका अनुसार यो पदमार्ग रामेछापको शिरिषे हुँदै पोकली झरना, त्यहाँबाट खिजीफलाटे हुँदै थोलेदेम्वा ल्याउन सके पर्यटक तान्न सकिने शेर्पाको भनाइ छ । 

 

थोलेदेम्वाबाट पिके नजिकै पर्छ । हिमाल आरोहण गर्न नसक्ने विदेशी पर्यटकहरु पिके चढेर फर्कने गरेकाले देम्वा पिके पदमार्ग महत्वपूर्ण रहेकाले पिके जोड्न देम्वामा पर्यटकीय पूर्वाधार तयार गर्न पहल भइरहेको सांसद यज्ञराज सुनुवार बताउँछन् । सुनुवारकै पहलमा २०७४ सालमा थोलेदेम्वा प्रथम महोत्सव आयोजना भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सव उद्घाटन गरेकी थिइन् । यसपछि यो स्थान चर्चामा आएको हो । 

 

देम्वामा विभिन्न प्रजातिका लालीगुराँस र चिमालको जंगल छ । जसले गर्दा फागुनदेखि चैतसम्म देम्वाका वनहरु फुलबारी जस्तै देखिने गर्दछ ।