close

पर्यटक लोभ्याउन मैवाखोलामा गुराँस गार्डेन

पर्यटक लोभ्याउन मैवाखोलामा गुराँस गार्डेन

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - गुराँसका अधिकांश प्रजातिलाई एकै ठाउँबाट अवलोकन गर्न पाइने गरी ताप्लेजुङको मैवाखोला गाउँपालिकाले गुराँस गार्डेन बनाउने भएको छ । 


रमिते ढाप र झ्याउँपोखरी क्षेत्रमा गुराँस गार्डेन बनाउने गरी प्रकृया सुरु भएको गाउँपालिकाका प्रवक्ता तथा मैवाखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष थर्ककुमार (दिवस) चोङ्वाङले जानकारी दिए ।


उनका अनुसार लालीगुराँसको राजधानी भनेर चिनिने तिनजुरे-मिल्के-जलजले क्षेत्रमा पाइने सबै गुराँसका प्रजाति अब रमिते ढाप र झ्याउँपोखरी क्षेत्रमा बन्ने गुराँस गार्डेनमै पाउन सकिने छ । गाउँपालिकाले यसका लागि रकम समेत विनियोजन गरेको उनले जानकारी दिए । 


तिनजुरे-मिल्के-जलजले क्षेत्र क्रमशः संखुवासभा, ताप्लेजुङ र तेह्रथुमको संगमस्थल हो । ग्रामीण पर्यटनमार्फत स्थानीय होमस्टेको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो गुराँस गार्डेनको अवधारणा अघि सारिएको समेत प्रवक्ता चोङ्वाङले बताए । 


पर्यटन र कृषिलाई एकसाथ जोड्न तथा स्थानीय समुदायको आयआर्जनमा समेत सघाउन गुराँस गार्डेनको अवधारणा लाभदायक बन्ने पालिकाको विस्वास छ । गुराँस गार्डेन बन्ने स्थानसम्म कच्ची सडक पुगिसकेकोले सडक स्त्तरोन्नतिका लागि गाउँपालिकाले रकम विनियोजन गरेको छ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले ग्रामीण पर्यटन र कृषिलाइ आर्थिक उर्पाजनसँग जोड्ने उद्देश्यका साथ गुराँस गार्डेन बनाउने कार्य अघि सारिएको जानकारी दिए । तराइ हुँदै पहाडी जिल्लाहरु जोड्ने मदन भण्डारी मार्ग समेत यसै क्षेत्रमा रहेकोले गुराँस गार्डेन पर्यटन प्रवर्द्धनका लागि कोशेढुङ्गा सावित हुने उनको विश्वास छ ।