close

धामी नाचमा झुम्दै हुम्ली

धामी नाचमा झुम्दै हुम्ली

Trulli
ADVERTISEMENT

हुम्ला - हुम्लाका विभिन्न पालिकाका अधिकांश गाउँले कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक पूर्णिमाकाे अवसरमा धामी नाचेर पूर्णिमा मनाउने चटारोमा छन् । 


वर्षको अन्तिम पूर्णिमाका रुपमा मनाइने कोजाग्रत पूर्णिमाको दिन शनिबार बिहानैदेखि विभिन्न देवताको माडु (मन्दिर) मा देवताका  धामी र भक्तालुहरूको भीड लागेको छ । पूर्णिमाको अघिल्लो दिन शुक्रबारदेखि नै हुम्लाको अदानचुली, ताजकोट, सर्केगाड, सिमकोट र खार्पुनाथलगायत विभिन्न गाउँपालिकामा धाम लागेको छ ।


परम्परागत मान्यताअनुसार मदानादेव र कालसिल्तो देवताका मन्दिरमा पूजाआजा र जात्रा लागेको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले बताए ।


‘हुम्ला, मुगु र बाजुरा गरेर ३ जिल्लाका तीर्थालु आउने हुँदा अदानचुलीमा ठूलो मेला लाग्ने भए पनि यस पटक कोरोना संक्रमणका कारण बाहिरबाट आउनेलाई निषेध गरिएकाले संख्या केही कम छ,’ अध्यक्ष फडेराले भने, ‘देवताका मन्दिरमा शुक्रबार बिहानैदेखि शनिबार रातीसम्म ठूलो मेला लाग्ने गर्छ ।’


वर्षको अन्तिम पूर्णिमाका रुपमा मनाइने भएकाले मौला, नाच्नेडाँडा, लामाथाणा पालिकाभरका देवताका धामी भेला भएर धामी नाच्ने चलन छ ।


यस्तै, खार्पुनाथको राया, लेख र सिमकोटको याङ्गु गाउँमा लाग्ने ज्वारेपूर्णिमा मेला भर्न सदरमुकाम सिमकोटबाट समेत भक्तालुहरू ओइरिने गर्छन् । यी गाउँमा पनि धुमधाम साथ धामी नचाउने गरिन्छ ।


शुक्रबार र शनिबार गरी २ दिनसम्म चल्ने पूर्णिमा पर्वमा यहाँका धामीले विभिन्न अवतारसमेत देखाउने गरेका छन् । रातभर विभिन्न उमेर समूहका तन्नेरीको उपस्थितिमा देउडासमेत खेल्ने चलन छ ।