close

जुम्लाका ८ स्थानीय तहमध्ये ३ गाउँपालिकामा मात्र एम्बुलेन्स सेवा 

जुम्लाका ८ स्थानीय तहमध्ये ३ गाउँपालिकामा मात्र एम्बुलेन्स सेवा 

Trulli
ADVERTISEMENT

जुम्ला - जिल्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा गाउँपालिकामा मात्र एम्बुलेन्स सेवा छ । एम्बुलेन्स सेवा दिनेमा सिंजा, हिमा र पातारासी गाउँपालिका रहेका छन् । अन्य एक नगरपालिकासहित चार गाउँपालिकाले भने एम्बुलेन्स सेवा दिएका छैनन् ।


आकस्मिक सेवा प्रवाह गर्नका लागि गाउँपालिकाले गत वर्षदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा एम्बुलेन्स गाउँपालिकामा पुगेको हो । राजश्व (कर) छुट गरेर १० लाख बजेटमा पालिकाले खरिद गरेको हो ।’


एम्बुलेन्स सेवा सञ्चालनले यहाँका जटिल प्रकृतिका बिरामीलाई जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लैजान सहज भएको छ । गत वर्षदेखि नै स्थानीयवासीलाई सेवा दिन उद्देश्यका साथ गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । 


कनकासुन्दरी, गुठीचौर, तिला, तातोपानी गाउँपालिकाले भने चालू आर्थिक वर्षमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने तयारी गरेका छन् । स्थानीय तहले कर छुट गरेर १०-१० लाख रुपैयाँ बजेटमा एम्बुलेन्स खरिद गर्ने तयारी गरेका छन् । 


गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार गुठीचौरले चालू आर्थिक वर्षमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार एम्बुलेन्स खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ । चालू आर्थिक वर्षबाटै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउनेछ ।