close

२५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण  हुने 

२५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण  हुने 

Trulli
ADVERTISEMENT

रूपन्देही - पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको सेती नदी जलविद्युत आयोजनाको सिभिलतर्फको काम १० प्रतिशत सकिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन यस आयोजनाका लागि ३५० करोड रुपैयाँ ऋण लगानीको सम्झौता भइसकेको छ ।


एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले यसमा ऋण लगानी गर्ने भएका छन् । भिजन लुम्बिनी ऊर्जा प्रवर्द्धन कम्पनीद्वारा प्रवर्द्धधित यस आयोजनामा यी तीनवटा वित्तीय संस्थाले तीन अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


कम्पनीमार्फत निर्माण सम्पन्न गरिने सेती नदी जलविद्युत आयोजनाका लागि एनएमबि बैँक लिमिटेडको अगुवाइमा एनएमबि बैँक लिमिटेडमार्फत २२० करोड, कर्मचारी सञ्चय कोषमार्फत ८० करोड र कृषि विकास बैंक लिमिटेडमार्फत ५० करोड गरी जम्मा ३५० करोड रुपैयाँ ऋण लगानी हुने सम्झौता भएको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।


आयोजनाका लागि बैंकहरूको तर्फबाट कुल लागत ५०० करोडको ७० प्रतिशतले हुने रकम ३५० करोड रुपैयाँ ऋण लगानी हुनेछ भने काठमाडौं, पोखरा, चितवन, तनहुँ, विशेष रूपमा बुटवलवासी र माछापुच्छ्रे गाउँपालिकाका स्थानीयहरू समेत शेयरधनी भई प्रवर्द्धकहरूको तर्फबाट ३० प्रतिशतले हुन आउने १५० करोड रकम लगानी हुने सम्झौतामा उल्लेख गरिएको छ । 


आयोजनाले विद्युत उत्पादनपछि आईपीओमार्फत स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्ने उनले बताए । विगत नौ महिनादेखि निर्माणको काम भइरहेको आयोजना आगामी १८ देखि २० महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको भिजन लुम्बिनीका संचालक ज्ञानेन्द्र कसजुले बताए । 


नमुना जलविद्युत परियोजनाको रूपमा स्थापित हुने गरी यो आयोजना समयमा नै सम्पन्न गरिने उनले प्रतिबद्वता पनि जनाए । आयोजनाको सुपरीवेक्षणको काम हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले गर्दै आएको छ । आयोजनाबाट उत्पादित विद्युत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सवस्टेशनमा जोडिने अर्का संचालक विनोद ज्ञवालीले बताए । 


भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा कास्की जिल्लाको माछापुच्छ्रे  गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाका लागि सरकारी निकायहरू नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय तथा वातावरण मन्त्रालयबाट लिनुपर्ने अनुमति तथा इजाजतपत्रहरू लिने कार्य सम्पन्न गरी आयोजनाको डिटेल प्रोजेक्ट रिपोर्टको काम हाइड्रो कन्सल्ट एण्ड बीडीए जेभीले सम्पन्न गरिसकेको छ ।


कम्पनीले आयोजनाका लागि पहुँचमार्ग निर्माण र जग्गा खरिदको काम पनि सम्पन्न गरिसकेको छ भने सिभिल निर्माणको कार्य रसुवा लुना जेभीले गरिरहेको छ । आगामी दुई वर्षभित्रमा मुख्य निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको निर्माण कार्य लकडाउनका बेलामा पनि भइरहेको थियो ।


सेती नदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सवस्टेसनसम्म १३२ के.भी.ए.को चार किलोमिटर ट्रान्समिसन लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।


आयोजनाका संस्थापक लगानीकर्ताहरू विभिन्न पेसा व्यावसायमा संलग्न व्यक्तिहरू रहेका छन् भने स्थानीयहरूको उत्साहजनक सहभागिता र सहयोग पनि रहेको छ । यो आयोजना निर्माण भएपछि कास्की जिल्लाको समग्र विकासको लागी कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।