close

सिरिजंघाको पालिका केन्द्र सडक सञ्जालमा जोडिँदै

सिरिजंघाको पालिका केन्द्र सडक सञ्जालमा जोडिँदै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले सवारीसाधनमार्फत आफ्नो पालिका केन्द्रसम्म पुग्न छिमेकी स्थानीय तहको मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटाउने भएको छ । गाउँपालिकाको केन्द्र वडा-४ तेल्लोेकबाट वडा-५ पेदाङ, वडा-७ खेवाङ र वडा- ८ याम्फुदिन पुग्न अहिले छिमेकी स्थानीय तह सिदिङ्वाको मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे आफ्नै गाउँपालिका भूगोलभित्रको सडक प्रयोग गरी पालिकाको केन्द्रबाट प्रत्येक वडासम्म जोड्ने सडक मार्ग निर्माण योजना अगाडि बढेको जानकारी दिए ।


त्यसका लागि वडा-४ तेल्लोक र वडा-५ पेदाङको सीमा क्षेत्र जोरपुलबाट राष्ट्रिय मावि पेदाङ-आँपडाँडा-फेरे-मानेडाँडा हुँदै खेवाङ जाने मोटर बाटोलाई गाउँपालिकाको गौरवको आयोजनाभित्र समेटिने उनले बताए ।


‘५ करोड रुपैयाँ बढीको लागत अनुमान गरिएका योजनालाई गाउँपालिकाले गौरवका आयोजनाको रुपमा समेट्ने कार्ययोजना तयार गरेको छ । नेपाल सरकारबाट स्वीकृत उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम सञ्चालन कार्यविधिबमोजिम प्राप्त हुने सबै रकम आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याउने गरी आयोजना व्यवस्थापनको कार्य अघि बढाउने सोचमा छौं’, घिमिरेले भने ।

 

गाउँपालिकाले यो सडकबाहेक पालिकाको केन्द्र तेल्लोकको हेलिप्याडमा कृषि बजार निर्माणलाई समेत गौरवको आयोजनाको रुपमा समेट्ने भएको छ । फलफूल र खाद्यान्न सामग्रीलाई बेग्लाबेग्लै ब्लकबाट बिक्री गर्ने गरी निर्माण गरिने कृषि बजार केन्द्रलाई बहुवर्षीय आयोजनाको रुपमा समेटिनेछ ।

 

पालिकाभित्रकै सडक प्रयोग गरी गाउँभित्रै उत्पादन भएका उपजलाई कृषि बजार केन्द्रमार्फत बिक्री हुने व्यवस्था मिलाइने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।