close

खेलाडीलाई व्यावसायिक क्लबमा आबद्ध गर्दै मैवाखोला 

खेलाडीलाई व्यावसायिक क्लबमा आबद्ध गर्दै मैवाखोला 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहबाटै राम्रो खेल खेल्ने विद्यार्थीलाई देशका व्यावसायिक क्लबहरूमा आबद्ध गर्न पहल गर्ने भएको छ । 


प्रतिभा पहिचान कार्यक्रममार्फत खेलाडीहरू छनोट गर्ने तथा तथा उनीहरूको दक्षता विकासका लागि प्रशिक्षण शिविर सञ्चालन गर्नेगरी गाउँपालिकाले बजेटको व्यवस्था गरेको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्वाङले जानकारी दिए । चोङ्वाङ आफैँ जिल्ला भलिबल संघका अध्यक्ष तथा राष्ट्रिय रेफ्री पनि हुन् । 


उनले खेल क्षेत्रलाई प्रोत्साहन गर्न पालिकाभित्र रहेका प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेल संस्था तथा व्यावसायिक क्लबसँग आबद्ध गराउने पालिकाको तयारी सुनाए । त्यसका लागि गाउँपालिकाले प्रत्येक वडामा न्यूनतम आधारभूत पूर्वाधारसहितको खेल मैदान निर्माण गर्ने पालिकाले योजना बनाएको छ । मैवाखोलामा छवटा वडा रहेका छन् । 


‘चालू आर्थिक वर्षबाटै यो कार्य कार्यान्वयन चरणमा जाने छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले भने । गाउँपालिकाले प्रत्येक वडामा कम्तीमा एउटा फुटबल मैदान तथा भलिबल कोर्ट निर्माण गर्ने योजना बनाएको छ । 


प्रवक्ता चोङ्वाङका अनुसार गाउँपालिकाभित्र सबैभन्दा बढी सम्भावना भएका खेल भलिबल र फुटबल नै हुन् । खेलाडी पहिचानका लागि पालिकाभित्र आयोजना हुने खेलकुदका सबै कार्यक्रमहरूमा स्थानीय क्लब तथा आयोजकसँग सहकार्य गरिने भएको छ । विद्यालय तहबाटै उत्कृष्ट खेलाडी उत्पादनका लागि गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूलाई खेलकुद सामग्री उपलब्ध गराउनेछ । 


पालिकाभित्रका सबै विद्यालयका खेलकुद शिक्षकलाई सम्बन्धित सम्भावनाको खेल छनोट गरी मागका आधारमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्ने गरी बजेटको व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ । पालिकाभित्रको समग्र खेलकुद क्षेत्रको व्यवस्थापनका लागि पालिकास्तरीय खेलकुद विकास समितिसमेत गठन गर्ने मैवाखोलाको तयारी छ ।