close

दुई पालिका जोड्ने पुलबाटै बन्जी सरर 

दुई पालिका जोड्ने पुलबाटै बन्जी सरर 

Trulli
ADVERTISEMENT

पर्वत - कालीगण्डकी नदीको खोच कुस्मा र बाग्लुङ नगरपालिका जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्विङ र स्काई साइक्लिङलगायत साहसिक खेल सञ्चालन गरिएको छ । द क्लिफ प्रालिले १५ कात्तिकदेखि बन्जी सञ्चालनमा ल्याएको हो ।

 

०७३ देखि पुल निर्माण सुरु गरिएको थियो । पुलसँगै रिसोर्ट निर्माण ०७६ अन्तिममा सकिए पनि लकडाउनले सञ्चालनमा ल्याउन नसकिएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।

 

५ सय २५ मिटर लामो झोलुंगे पुलको बीचमा कालीगण्डकी नदीमाथी बन्जी र स्विङका लागि हाम फाल्ने पूर्वाधार निर्माण गरिएको छ । खोलादेखि पुलको उचाइ २ सय २८ मिटर छ ।
हाल विश्वकै अग्लो बन्जी मकाउमा ७ सय ६४ फिट र दोस्रो अग्लो स्वीट्जरल्यान्डको भरजस्का बाँधमाथि ७ सय २० फिट उचाइमा छ । 

 

बन्जी परियोजना स्वीट्जरल्यान्डलाई पछि पार्दै विश्वकै दोस्रो अग्लो हुनेछ भने यहाँको स्विङ विश्वकै अग्लो बनेको कार्कीले दाबी गरे । 

 

बन्जी र स्विङ दुवैको मूल्य ७ हजार तोकिएको छ । पोखरादेखि कुस्माको दुईतर्फी गाडी सुविधासहित बन्जी वा स्विङको ८ हजार ४ सय ५० रुपैयाँ र टेन्डम (जोडी) स्विङ गर्न चाहनेले १२ हजार तिनुपर्नेछ ।

 

बन्जीका लागि निर्माण गरिएको पुलको उचाइ २ सय २८ मिटर र त्यसभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।

 

जमिनबाट १२ मिटर अग्लो पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनुपर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुइँक्याइदिन्छ ।

 

‘चट्टान आरोहणलगायत साहसिक खेलमा प्रयोग हुने गुणस्तरीय डोरीको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरी निर्माण गरिएको पिङ नेपालकै नमुना बनेको छ’, कार्कीको दाबी छ । पिङ खेल्न प्रतिव्यक्ति २ सय ५० रुपैयाँ शुल्क लाग्नेछ ।

 

बन्जी परिसरमै स्टिल कोर केबल प्रयोग गरी स्काई साइक्लिङ तयार गरिएको छ । विश्वकै सबभन्दा उचाइमा सञ्चालित कालीगण्डकी खोचको स्काई साइक्लिङ २ सय २८ मिटर अग्लो छ भने लम्बाइ ३ सय मिटर छ ।

 

दुईतर्फी ३ सय मिटर लम्बाइ रहेको रुटमा १ पटकमा २ जनाले साइक्लिङ गर्न सक्ने कार्कीले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्काई साइक्लिङ तयार गरेका छौं । यसको सञ्चालनमा सुरक्षा सावधानी अपनाइनेछ’, कार्कीले भने ।

 

साइक्लिङका लागि आवश्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले उपलब्ध गराउनेछ । साइकल र यात्री दुवैलाई सुरक्षा डोरीले अड्काइनेछ । लिकमा रेल गुडेझैं फिक्स ह्यान्डलयुक्त साइकललाई रोपमा कुदाइन्छ ।

 

स्काई साइक्लिङ सञ्चालन भने केही महिनापछि गरिने कम्पनीले बताएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बाग्लुङ नगरपालिकाको बलेवामा २५ रोपनीमा द क्लिफ रिसोर्ट बनिसकेको छ । २१ सफारी टेन्ट रहेको रिसोर्टमा ७० आगन्तुक बास बस्न सक्छन् ।


परियोजनामा २० करोड खर्च अनुमान गरिए पनि लकडाउनले समयमै काम गर्न नसक्दा २८ करोड लागत पुगेको कम्पनीका अध्यक्ष कार्कीले जानकारी दिए ।


कार्कीसँगै युवराज जोशी, नेत्रप्रसाद पराजुली, प्mलोरेन्स कार्की, राजन जोशी र नवराज शर्मालगायतको लगानी रहेको परियोजनामा प्रभु बैंकको ऋण सहयोग  छ । बन्जी र स्विङका लागि बनाइएको पुलको लगानी ८ करोड बढी रहेको छ । १ सय २० रुपैयाँ तिरेर उक्त पुल वारपार गर्न सकिन्छ ।