close

सिंजा गाउँपालिकाले थाल्यो हिमा नदीमा पक्की पुल निर्माण 

सिंजा गाउँपालिकाले थाल्यो हिमा नदीमा पक्की पुल निर्माण 

Trulli
ADVERTISEMENT

जुम्ला - जुम्लाको सिंजा गाउँपालिकाले पक्की पुल निर्माणको कार्य थालनी गरेको छ । गाउँपालिकाले वडा- १ को हिमा नदीमाथि पक्की पुल निर्माण गर्न थालेका हो ।


गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार पालिकाको मुकाम नराकोटदेखि कर्णाली राजमार्गको नाम्म-गमगढी सडक खण्डसँग जोड्नका लागि पक्की पुल निर्माण गर्न थालिएको हो । पक्कीको कुल लागत पाँच करोड रुपैयाँ रहेको छ । 


तीन वर्षको अन्तरालमा क्रमागत योजनामा पुल निर्माण कार्य सम्पन्न गर्ने तयारी गरिएको उनको भनाइ छ । उनले भने, ‘कर्णाली प्रदेश योजना तथा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाको ८० लाख र गाउँपालिकाको ८० लाख गरी एक करोड ६० लाख रुपैयाँ बजेटमा पहिलो चरणको निर्माण कार्य थालनी गरिएको हो ।’

 

दोस्रो चरणको निर्माण कार्यका लागि पनि कर्णाली प्रदेश सरकारको ६५ लाख र गाउँपालिका ६५ लाख गरी एक करोड ३० लाख रुपैयाँ बजेट जुटेको छ । अपुग बजेट संघ, प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयमा तीन वर्षभित्र पक्की पुल निर्माण गर्ने योजना अघि बढाएको अध्यक्ष रावलले बताए । 


सिंजा गाउँपालिका छ वडामा विभाजित छ । यहाँका सबै वडामा सडक पुगिसकेको उनले बताए । उनले भने, ‘६ नम्बर वडाबाहेक अरू वडाका केही सडक आरसीसी र ग्राभेलसमेत भइसकेका छन् ।’