close

सांसदको कोसेली : ३ एम्बुलेन्स, १ स्वास्थ्य चौकी र हेलिप्याड

सांसदको कोसेली : ३ एम्बुलेन्स, १ स्वास्थ्य चौकी र हेलिप्याड

Trulli
ADVERTISEMENT

रुपन्देही - अर्घाखाँचीको भूमिकास्थान-१० स्थित धनचौर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । भवन बनेसँगै स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण  गरिएको छ । अर्घाखाँचीका संघीय सांसद टोपबहादुर रायमाझीले हेलिप्याड, स्वास्थ्य चौकी भवन उद्घाटन र एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

 

रायमाझीले स्थानीय पूर्वाधार विकास आयोजनाअन्तर्गत भूमिकास्थान-१, १० र मालारानीको खन स्वास्थ्य चौकीलाई ३ एम्बुलेन्स हस्तान्तरण गरे ।


‘भालुवाङमा प्रदेश राजधानी भएपछि धनचौरसँगै दक्षिण भेगको  विकासले फड्को मार्छ । सडक स्तरोन्नति, स्वास्थ्य, शिक्षाजस्ता पूर्वाधार विकासबाट हरेक क्षेत्रमा नागरिकले प्रत्यक्ष लाभ लिनेछन्’, नेता रायमाझीले भने । सडक पूर्वाधार विकाससँगै यस क्षेत्रका जडीबुटी तथा कृषि उपजको बजारीकरणमा सहज हुने उनले दाबी गरे । 


पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीले मुलुक विकास र समृद्धिको नयाँ युगमा प्रवेश गरेको दाबी गरे । उनले भने, ‘मुुलुकमा राजनीतिक क्रान्ति र पूर्वाधार विकास अन्तिम चरणमा आइसकेको छ । अब सामाजिक विकास र समृद्धिको अभियान चलाउनुपर्छ ।’ सांसद रायमाझी अर्घाखाँचीमा हेलिप्याडसमेत उद्घाटन गरेका छन् ।

 

लुम्बिनी प्रदेशको राजधानी भालुवाङ बनाउन जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेश सांसदहरूको चलाखीपूर्ण भूमिकाकै कारण अर्घाखाँचीलाई समेटेर दाङलाई स्थायी राजधानी बनाउन सकिएको उनको दाबी छ ।

 

भूमिकास्थान नगरप्रमुख रेशम थापा, उप-प्रमुख खडानन्द बेल्वासे, मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यलगायतले सरकारको लगानीमा बनेका विकासको जनताले सदुपयोग गर्दै संरचनाको संरक्षणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

 

सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर विकले हाल अर्घाखाँचीका ६ वटै स्थानीय तह र तिनका ६१  वडामा सडक यातायात पुगिसकेको र स्तरोन्नति जारी रहेको जानकारी दिए  । ‘बिजुली जिल्लाका सबै घरधुरीमा बलिसकेको छ । खानेपानीका लागि एक घर एक धाराअन्तर्गत काम भइरहेका छन् । वडावडामा स्वास्थ्य चौकी तथा एम्बुलेन्स व्यवस्था छ,’ विकले भने ।


जिल्लामा रहेको जिल्ला अस्पताललाई पनि आइसियुसहित विकास गरिने उनले बताए । शिक्षा, कृषि क्षेत्रको आधुनिकीकरण र विमानस्थल निर्माणाधीन अवस्थामा रहेको विकले जानकारी दिए ।

 

कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेल, प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेलगायतको उपस्थिति थियो ।