close

असारे विकास कम गर्न अन्नपूर्णकाे जुक्ति : अब तालिका अनुसार बन्नेछन् योजना

असारे विकास कम गर्न अन्नपूर्णकाे जुक्ति : अब तालिका अनुसार बन्नेछन् योजना

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘असारे विकास’को विकृति न्यूनीकरणका लागि नीतिगत पहल थालेको छ । समय तालिका बनाएर आर्थिक वर्षको पहिलो चौमासिकमै योजना सम्झौता र कार्यान्वयन सुरु गरेको छ । 


आर्थिक वर्षको अन्त्यमा गरिने पूर्वाधार, तालिम, गोष्ठी दिगो, प्रभावकारी र उपलब्धिमूलक नदेखिएपछि सुधारको पहल थालेका हुन् । योजना तथा कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारी पहिलो चौमासिकमा उपभोक्ता समिति गठन, सम्झौता र उनीहरूलाई तालिम दिन थालेका छन् ।  


समयमै, गुणस्तरीय काम गराउन र बजेट दुरूपयोग रोक्नका लागि असारे विकासको प्रवृत्तिलाई निरुत्साहित गरिएको उपाध्यक्ष केशमाया मगरले बताइन् । ‘योजनाहरूलाई प्रभावकारी, पारदर्शी र उपलब्धिमूलक बनाउन समयमै कार्यान्वयन गराउने नीति लिएका हौँ’, उनले भनिन्, ‘पालिकाले लिएको नीतिलाई उपभोक्ताले पनि साथ दिएका छन् ।’ 


चालू आर्थिक वर्षमा पुँजीगत शीर्षकमा १७२ वटा योजना तथा कार्यक्रमका लागि १३ करोड ३६ लाख छ हजार रुपैयाँ बिनियोजन भएको छ । पूर्वाधारतर्फ वडा स्तरका १०६ र गाउँपालिका स्तरीय १९ वटा योजना रहेका योजना अधिकृत हरिकृष्ण आचार्यले बताए । 


यसैगरी चालू प्रकृतिका ५१ वटा कार्यक्रम छन् । तीन लाख रुपैयाँसम्म बजेट बिनियोजन भएका ५५ वटा योजनाको सम्झौता वडामै गर्ने व्यवस्था मिलाइएको छ । १० लाख रुपैयाँभन्दा बढी बजेट भएका योजना १८ वटा छन् । 


योजनाहरूको सर्वेक्षण सकेर लागत इस्टिमेट तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । ठूला योजनाहरू कार्यान्वयन गर्न ठेक्का प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले बताए । 


‘सबै योजनाको इस्टिमेट तयार भएको छ’, उनले भने, ‘प्राविधिक साथीहरूले साउन, भदौमै आफूलाई तोकिएको कार्यक्षेत्रमा पुगेर सर्वेक्षण गरिसक्नुभएको थियो ।’ 


योजना कार्यान्वयनलाई सहज र प्रभावकारी बनाउन उपभोक्ता समितिका पदाधिकारीहरूलाई तालिमको व्यवस्था गरिएको छ । २०७७ चैत महिनाभित्र सबै योजनाको काम र फरफारक गरिसक्ने कार्ययोजना बनाइएको छ । कात्तिक महिनाभित्र सम्झौता गरिसक्ने पनि जनाइएको छ । 

 

सडक नपुगेका वस्तीमा सडक पुर्‍याउने, ट्र्याक खोलिएका सडकको स्तरोन्नति, पदमार्ग निर्माण, सामुदायिक विद्यालयको गुणस्तर सुधार, आयआर्जन वृद्धि, सामुदायिक भवन, खानेपानी विस्तारका योजनालाई प्राथमिकता दिएको अध्यक्ष डमबहादुर पुनले बताए ।