close

जनप्रतिनिधिको सेवाः वृद्धालाई बाँचुञ्जेल वडाकै भातपानी

जनप्रतिनिधिको सेवाः वृद्धालाई बाँचुञ्जेल वडाकै भातपानी

Trulli
ADVERTISEMENT


खोटाङ– वृद्ध हुँदै गएपछि सन्तानले समेत हेयका दृष्टिले हेर्ने परम्परा अझैपनि छ नेपाली समाजमा । बाआमालाई वृद्धाश्रममा छोडेर घरमा कुकुर पाल्नेहरुका लागि गतिलो उदाहरण बनेका छन् खोटाङको जन्तेढुंगा– ४ का वडाअध्यक्ष बिदुरमान राई ।


राईको पहलमा वडाकी एक जेष्ठ नागरिकलाई बाँचुन्जेल पालन पोषण र खानपान गराउने वडा कार्यालयले निर्णय गरेको छ । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय खाँवा टोलकी ६९ वर्षीय बृद्धा डम्बरकुमारी राईको खाने बस्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको छ ।


वडा कार्यालयले सन्तान नभएको र श्रीमानको पनि मृत्यु भइसकेको अवस्थामा बेसाहारा जीवन बिताइरहेकी राईको छाक टार्ने व्यवस्थाको जिम्मा लिएको हो ।


हातगोडा चल्न छाडेको र खेती किसानीको काम गर्न नसक्ने अवस्थामा पुगेका कारण बृद्धाको खाने बस्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको वडाध्यक्ष बिदुरमान राईले बताए । बृद्धा राई बाचुञ्जेलसम्म आवश्यकताका आधारमा खाद्यान्न, दाल, नुन, तेल घरैमा पु¥याइदिने व्यवस्था मिलाइएको वडा कार्यालयले जनाएको छ ।


२००८ सालमा जन्मिएकी डम्बरकुमारीका श्रीमानको पाँच वर्षअघि नै मृत्यु भइसकेको छ । हाल उनी बुढौलीपनका कारण आफै काम गरेर जीवन निर्वाह गर्न सक्ने अवस्थामा छैनन् ।


लट्ठीको साहरामा मात्र हिँडडुल गर्न सक्छिन् । हाल सानो झुपडीमा बस्दै आएकी उनी कान सुन्दिनन् । गत वर्षसम्म जेनतेन कुटो कोदालो गरेर २ रोपनी जग्गाको सानो अंशमा खेतीपाती लगाएकी उनी यस वर्षदेखि घर भित्र बाहिर गर्न समेत नसक्ने अवस्थामा पुगेको कारण बाचुञ्जेलसम्म खाना खाने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको वडाध्यक्ष राईले बताए ।


‘पोहोर सालसम्म अलि अलि काम गर्न सक्थिन् । यस वर्षदेखि कुटो चलाउन समेत सक्ने अवस्था नदेखिएपछि खाने व्यवस्था वडाले गर्ने जिम्मा लिएको हो,’ वडाध्यक्ष राईले भने, ‘आवश्यक परेको समयमा वडाकातर्फबाट खाद्यान्न पु¥याइदिने व्यवस्था गरेका छौँ । खाद्यानन व्यवस्था भएपछि उहाँले पकाएर खानुहुन्छ ।’


फुसको छानो हटाएर जस्ताको छाना हालिदिनका लागि वडा कार्यालयले डम्बरकुमारीको घरलाई पहिलो प्राथमिकतामा राखेको छ । उनलाई सोलार समेत निःशुल्क वितरण गरिसकिएको वडाध्यक्ष राईले बताए ।