close

२ जना संक्रमित भेटिएपछि हलेसी तुवाचुङ नगरपालिका सिल  

२ जना संक्रमित भेटिएपछि हलेसी तुवाचुङ नगरपालिका सिल  

Trulli
ADVERTISEMENT

खोटाङ - दुई जना कोरोना संक्रमित भेटिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बजार तथा कार्यालय सिल गरेको छ । विशेषगरी मध्यपहाडी लोकमार्ग आसपासमा बढी भीडभाड हुने बजार तथा नगरपालिकाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय सात दिनका लागि सिल गरिएको हो । 


शनिबार नगरपालिकाको संयोजनमा बसेको सर्वदलीय बैठकले संक्रमित व्यक्तिको सम्पर्कमा पुगिसकेका व्यक्तिलाई १४ दिन होम क्वारेन्टाइनमा बसाउने, आगामी २२ कात्तिकसम्म मध्यपहाडी लोकमार्ग आसपासमा पर्ने जयरामघाट, दुर्छिमको छापडाँडा, हलेसी बजार, अर्खौले, बिजुले तथा सगरमाथा राजमार्गमा पर्ने रेग्मीटारदेखि राजापानीबीचका होटल, खाजा घर, हार्डवेयर पसल, सवारी साधन मर्मत स्थललगायत बन्द गर्ने निर्णय गरेको छ । 


कोरोना संक्रमण थप फैलिन नदिनका लागि नगरपालिकाको कार्यालय, नगरपालिकाभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायतको सेवा सात दिनका लागि बन्द गराइएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । व्यापारिक केन्द्र तथा कार्यालय बन्द गरिए पनि स्वास्थ्य संस्था एवं मेडिकल भने २४ घण्टा नै खुला रहने नगरपालिकाले जनाएको छ । 


यस अवधिमा सामूहिक रूपमा खेलिने खेलकुदका गतिविधिमा रोक लगाउनुका साथै अनावश्यक रूपमा भेला नहुन/नगर्न आग्रह गरिएको छ । सिल अवधिमा खाद्य तथा किराना पसल प्रत्येक दिन बिहान ६ बजेदेखि १० बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ ।

 

कोरोना संक्रमण दर बढ्दै गएको अवस्थामा नगरपालिकाले अनावश्यक काममा घरबाहिर हिँडडुल नगर्न आग्रह गरेको छ । संक्रमित व्यक्तिको पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङ सकिएकाले स्वास्थ्य कार्यालयसँग समन्वय गरी स्वाब संकलन गर्ने र पीसीआर परीक्षणमा पठाइने नगरप्रमुख राईले बताए ।

 
हलेसी तुवाचुङ नगरपालिका- ७ महादेवस्थानका एक पुरुष र एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि व्यापारिक क्षेत्र, कार्यालयलगायत सिल गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकामा संक्रमितको संख्या छ पुगेको छ ।