close

सिदिङ्वाका ३ वडामा पशु बिमा 

सिदिङ्वाका ३ वडामा पशु बिमा 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाभित्रका ३ वडामा पशु बिमा कार्यक्रम लागू गरेको छ । सिदिङ्वा वडा-३ सादेवा, वडा-४ साब्लाखु र वडा-५ आङ्खोपमा पशु बिमा कार्यक्रम लागू गरिएको गाउँपालिका उपाध्यक्ष जीवन ताम्लिङले जानकारी दिए । 

 

चालू आर्थिक वर्षबाट लागू भएको पशु बिमा कार्यक्रमको प्रभावकारिता हेरेर आगामी आर्थिक वर्षमा पालिकाका अन्य वडामा समेत बिस्तार गरिने उनले बताए ।


सिदिङ्वामा ७ वडा छन् । पालिकाका प्रत्येक घरधुरीमा गाउँपालिकाको उपस्थितिको आभास दिलाउन तथा कृषकको पशुधनको सुरक्षा र जीविकोपार्जनमा सहयोग गर्न यो कार्यक्रम प्रभावकारी हुने पालिकाको विश्वास छ ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार गाउँपालिकाले पशुपक्षी विकास क्षेत्रतर्फ संघीय समानीकरण तथा ससर्त अनुदानबापत ७२ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ ।

 

यो रकमले पशु बिमा तथा दुहुना गाईभैंसी प्रोत्साहन कार्यक्रम, नस्ल सुधारका लागि सानन् जातका बिउ बोका खरिद तथा वितरण, माछापालन प्रोत्साहन, दलित लक्षित उन्नत जातका कुखुरा चल्ला वितरण, होलस्टिन जात गाईका कोरी वितरण र कुखुरा तथा माछापालन तालिम कार्यक्रम सञ्चालन गरिनेछ । 


कार्यक्रममार्फत गाउँपालिकाले प्रत्येक पशुपालकलाई व्यवसायमा प्रोत्साहन गर्न तथा पालिकालाई दूधमा आत्मनिर्भर बनाउन दुहुनो पशु प्रोत्साहन कार्यक्रमसमेत लागू गरेको जनाएको छ । यसअन्तर्गत एउटा पशु दुहुनो भए प्रतिकृषक २ हजार र २ भन्दा बढी पशु दुहुनो भए प्रतिकृषक ३ हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइनेछ ।

 

गाउँपालिकाले चालू आवमा करिब २ हजार किसानलाई यस्तो अनुदान उपलब्ध गराउने लक्ष्य लिएको छ ।