close

आठराई त्रिवेणीले लिन थाल्याे सम्पत्तिमाथिको कर

आठराई त्रिवेणीले लिन थाल्याे सम्पत्तिमाथिको कर

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सम्पत्तिमाथिको कर असुल गर्न थालेको छ । गाउँपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐनअनुसार व्यक्तिको सम्पत्तिमाथि लगाइएको कर कार्यान्वयनमा ल्याएको हो । गाउँपालिकाले व्यक्तिगत सम्पत्तिको करको दर पनि निर्धारण गरेको छ ।


पालिकाभित्रको एक तल्ले पक्की घरको मूल्य २० लाख रुपैयाँ मूल्यांकन गरिएको छ । दुई तल्ले घरको ४० लाख र तीन तल्लेको ७० लाख रुपैयाँ मूल्यांकन हुँदा अर्धपक्की एक तल्ले घरको पाँच लाख, दुई तल्लेको छ लाख ५० हजार र तीन तल्लेको ८ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । टायलको छाना लगाएको एकतले घरको ३ लाख ५० हजार,दुइतलेको ६ लाख तथा तीनतलेको ७ लाख ५० हजार मूल्याङ्कन गरिएको छ । 


टिनको छानो भएको एक तल्ले घरको तीन लाख, दुई तल्लेको पाँच लाख र तीन तल्लेको सात लाख तथा फुसको छानो भएको एक तल्ले घरको एक लाख, दुई तल्लेको दुई लाख ५० हजार र तीन तल्लेको चार लाख रुपैयाँ कायम गरिएको छ । 


यही मूल्यांकनका आधारमा एक रुपैयाँदेखि तीन लाख रुपैयाँसम्मको ५० रुपैयाँ, तीन लाख एक रुपैयाँदेखि चार लाखसम्मको ७५ रुपैयाँ र चार लाख एक रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म सम्पत्ति मूल्यांकन भए १०० रुपैयाँ कर तिनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय इङ्नामले जानकारी दिए । 


यसैगरी पाँच लाख एक रुपैयाँदेखि छ लाखसम्मको १२५ रुपैयाँ, छ लाख एक रुपैयाँदेखि सात लाखसम्मको १५० रुपैयाँ कायम गरिएको छ । ७० लाख रुपैयाँ सम्पत्ति हुनेले वार्षिक ५५० रुपैयाँ कर तिरे पुग्नेछ । 


सम्पत्ति कर हरेक वर्ष तिनुपर्ने नियम बनेको छ भने नतिरे पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्षसम्म नतिरे २० प्रतिशत हुँदै १० वर्षसम्म यो तहको कर नतिरे शत प्रतिशत जरिमाना लाग्ने नियमसमेत बनाइएको गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले बताए । १० वर्षभन्दा माथि जतिसुकै भए पनि १२५ प्रतिशत जरिमाना लगाइने भएको छ । 


यस्तै, अब्बल खेतको आठ रुपैयाँ तथा पाखो बारीको छ रुपैयाँ प्रतिरोपनी, दोयम खेतको छ रुपैयाँ र पाखो बारीको पाँच रुपैयाँ, सिम खेतको पाँच रुपैयाँ र पाखो बारीको चार रुपैयाँ, चाहार खेतको चार रुपैयाँ र पाखो बारीको तीन रुपैयाँ प्रतिरोपनी भूमि कर लगाइएको छ । 


दोभान बजार र गाउँपालिका केन्द्र वरिपरिको जग्गाको भूमि कर भने योभन्दा फरक निर्धारण गरिएको समेत गाउँपालिकाले जनाएको छ ।