close

धनुषामा सांसददेखि सिडिओसम्म संक्रमित

धनुषामा सांसददेखि सिडिओसम्म संक्रमित

Trulli
ADVERTISEMENT

धनुषा–  प्रदेश २ मा प्रदेश सांसद र प्रमुख जिल्ला अधिकारीसहित थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ४२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए ।


प्रदेश २ का जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक परमेश्वर साहलाई पनि कोरोना संक्रमण भएको छ । लगातार रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा साहलाई शनिबार संक्रमण पुष्टि भएको हो ।


संक्रमण पुष्टि भएपछि साह अहिले होमआइसोलेसनमा बसेका छन् । संक्रमण देखिए पनि सचेतक साहको स्वास्थ्य अवस्था सामान्य छ ।

 

यस्तै, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । रुघाखोकी र शरीर दुखेपछि पिसीआर परीक्षण गराउँदा भट्टराईको रिपोर्ट पोजिटिभ देखिएको हो ।


कोरोना पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी भट्टराई होमआइसोलसनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले बताए ।


प्रदेश २ मा पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।


गौर अस्पताल रौतहट, बर्दिबास कोभिड प्रयोगशाला महोत्तरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

 

सोमबार मात्रै धनुषामा २१, पर्सामा १३, सिरहामा ७, रौतहटमा ६, बारामा ५, महोत्तरीमा ४, सर्लाहीमा २,  सप्तरीमा १ र अन्य प्रदेशका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

पछिल्लो २४ घन्टामा थप ८ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । योसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १४ हजार ३ सय २२ पुगेको छ ।