close

कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गर्दै हलेसी तुवाचुङ

कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गर्दै हलेसी तुवाचुङ

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण सुरु गरेको छ । नगरपालिकाका ११ वटा वडाका किसानले उत्पादन गरेका खाद्यवस्तु, तरकारी तथा फलफूल संकलन गर्दै बिक्री गर्ने व्यवस्थाका लागि हलेसी तुवाचुङ नगरपालिका- १० अर्खौलेमा संकलन केन्द्र निर्माण सुरु गरिएको हो । 


किसानले उत्पादन गरेका तर बजार नपाइरहेका कृषि उपज खरिद गरिदिएर संकलन गर्दै बिक्री गर्नका लागि कृषि उपज संकलन केन्द्र निर्माण सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । 


नगरपालिकाकै ११ वटा वडामा कृषि उपज बिक्री वितरण र विनिमय गर्ने वातावरण बनाइने, त्यस क्रममा वडाबाट बिक्री नभएका थोक वस्तुलाई नगरपालिकाले खरिद गरिदिएर संकलन केन्द्रमा पुर्‍याउने लक्ष्य राखिएको छ । कृषि उपज उत्पादन हुने तर बिक्री नहुने समस्य हल गर्नका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट कृषि उपज संकलन केन्द्र निर्माण सुरु गरेको जनाएको छ । 


हालसम्म दुईवटा फलामे ट्रस र जमिनमा ढलान गरिने संकलन केन्द्रको हालसम्म ७५ प्रतिशत काम पूरा भएको नगरप्रमुख राईले बताए । नगरपालिकाका अनुसार कृषि उपज संकलन केन्द्रको घेराबारा हाल्ने र ढलान गर्ने काम बाँकी छ । किसानलाई व्यावसायिक रूपमा कृषि पेसामा प्रोत्साहन गर्नका लागि कृषि उपज संकलन केन्द्रको अवधारणा अघि सारिएको हो । 


‘कृषिजन्य वस्तुको थोक उत्पादन हुन्छ तर बजार पाउँदैन । कसैको उत्पादन खेर गइरहेको छ, कसैले किनेर पनि खान पाइरहेको छैन’, नगरप्रमुख राईले भने, ‘यही समस्या हल गर्न संकलन केन्द्र बनाउन थालिएको हो । किसानले जेसुकै कृषि वस्तु उत्पादन गरे पनि हामी बजारको ग्यारेन्टी गरिदिन्छौँ ।’ 


कोरोना महामारीका कारण निर्धारित समयमा कृषि उपज संकलन केन्द्र निर्माणको काम पूरा गर्न नसकिएको जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका धान, मकै, गहुँ, गहत, बदाम, तिल, जुनेलो, सुन्तला, कागती, नासपाती, हरियार सागपातलगायतका खाद्यवस्तु उत्पादनका लागि चर्चित छ ।