close

फक्ताङ्लुङका माध्यमिक विद्यालयमा छात्रा सहायता कक्ष 

फक्ताङ्लुङका माध्यमिक विद्यालयमा छात्रा सहायता कक्ष 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - छात्राहरुमा आउने शारीरिक परिवर्तनसहितका समस्या समाधानका लागि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले छात्रा सहायता कक्ष बनाउने भएको छ । 


पहिलो चरणमा माध्यमिक विद्यालय सञ्चालन भएका पालिकाभरका सबै विद्यालयमा यस्तो कक्ष बनाइने गाउँपालिका उपाध्यक्ष फूलमाया लिम्बूले जानकारी दिइन् । उनका अनुसार यस्तो सहायता कक्ष चालू आर्थिक वर्षमा माध्यमिक तह सञ्चालन भएका सबै विद्यालय र आगामी आर्थिक वर्षमा आधारभूत तह सञ्चालन भएका सबै विद्यालयमा बनाइनेछ । 


उनका अनुसार विद्यालयको एउटा कोठालाई मेडिकल बेड, प्राथमिक उपचारका सामग्री, स्यानिटरी प्याड र पोसाक परिवर्तन कक्षसमेत रहने गरी सहायता कक्षको रूपमा रूपान्तरण गरिनेछ । 


यस कार्यका लागि विद्यालयका एक जना महिला शिक्षकलाई जिम्मेवारी दिइनेछ भने उनलाई प्रोत्साहन भत्ताबापत गाउँपालिकाले मासिक एक हजार रुपयाँ उपलब्ध गराउनेछ । सहायता कक्ष बनाउन गाउँपालिकाले माध्यमिक तहका विद्यालयहरूलाई वार्षिक अनुदान उपलब्ध गराउने समेत उपाध्यक्ष लिम्बूले जानकारी दिइन् ।

 

गाउँपालिकाले कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । 


पालिकाभित्रका सबै विद्यालयहरूका शिक्षक अनिवार्य रूपमा शैक्षिक सामग्री तथा शिक्षक डायरीसहित उपस्थित हुने वातावरणका लागि ‘एक शिक्षक, एक झोला’ कार्यक्रमसमेत लागू गरिएको छ ।