close

वडाध्यक्षले वायरिङ गरिदिए, ७३ वर्षमा भट्टले बिजुली देखे

वडाध्यक्षले वायरिङ गरिदिए, ७३ वर्षमा भट्टले बिजुली देखे

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीको मेलौली नगरपालिकाको वडा नम्बर २ (साविकको दुर्गास्थान गाविस)लाई विद्युतको राष्ट्रिय प्रसारण लाइनले छोएको १२ वर्ष पूरा भइसकेको थियो । 


दुर्गास्थान बजारमा २०६४ सालमै विद्युत पुगे पनि त्यहाँबाट अगाडि विद्युत विस्तार नहुने हो कि ? भन्ने त्यहाँका स्थानीयवासीको चिन्ता थियो । कर्पत, रौतगाउँ, गेरडालगायतका ठाउँका मानिस दैनिक उपभोग्य वस्तुका लागि मात्र नभई विद्युतबाट हुने हरेक काम गर्न, मिलमा अन्न पिस्न र मोबाइल चार्ज गर्नसमेत दुर्गास्थान बजार पुग्ने गरेका थिए । 


तर, अहिले उनीहरूका गाउँमा समेत विद्युत विस्तार भएको छ । ती दुर्गम गाउँहरूमा विद्युत विस्तारका लागि पटकपटक पहल गर्दा कहिले ठेकेदारको लापरवाहीले काम हुन सकेन भने कहिले सरकारको नजर पुगेन । 


तर, अहिले भने कर्पत, रौतगाउँ अर्थात् साविकको दुर्गास्थान गाविसका सबैजसो वस्तीहरूमा विद्युत सेवा विस्तार भएको छ । मेलौली- २ का वडा अध्यक्ष महेन्द्रबहादुर चन्द भन्छन्, ‘हामीले पटकपटक पहल गरेपछि अहिले बल्ल संघीय सांसद दामोदर भण्डारीज्यूको पहलमा र नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा बैतडीको सहयोगमा हामी विद्युत विस्तार गर्न सफल भयौँ ।’ 


वडा अध्यक्ष आफैँ वायरिङ गरिदिँदै


मेलौली नगरपालिका- २ का वडा अध्यक्ष महेन्द्रबहादुर चन्द अहिले आफैँ विपन्न नागरिकको घरघरमा पुगेर निःशुल्क रूपमा हाउस वायरिङ गरिरहेका छन् । भन्छन्, ‘हाम्रो वाडाभित्र धेरै व्यक्तिहरू आर्थिक रूपले निकै नाजुक अवस्थामा छन्, उनीहरूलाई हाउस वायरिङका लागि १०-१५ हजार रुपैयाँ जुटाउन अत्यन्त मुस्किल छ, त्यसैले म आफैँ घरघरमा गएर निःशुल्क हाउस वायरिङ गरिरहेको छु ।’

 

अफिस समय (बिहान १० बजेदेखि दिउँसो ४ बजे) बाहेकको समयमा विपन्न वर्गको घरमा गएर निःशुल्क हाउस वायरिङ गरिरहेको उनले बताए । उनले भने, ‘मैले सिकेको सीपको प्रयोग गरिरहेको छु र केही सिक्न चाहने युवाहरूलाई समेत मसँगै लगेर उनीहरूलाई पनि हाउस वायरिङको काम सिकाइरहेको छु ।’ 


सबैको घरमा आफू पुग्न नसके पनि अहिलेसम्म करिव १० घरमा हाउस वायरिङ सम्पन्न गरेको र आगामी दिनमा बाँकी रहेका घरमा वायरिङ गरिदिने उनले बताए । 
   

गाउँमा विद्युत पुगेकाले आफूहरूलाई निकै सजिलो भएको स्थानीयवासी बताउँछन् । ७३ वर्षीय प्रमानन्द भट्टले भने, ‘मैले जन्मेको ७३ वर्षपछि बल्ल बिजुलीको उज्यालो देख्न पाएँ । गाउँ अन्धकार छँदै मरिने पो हो कि भन्ने हामी बुढापाकालाई चिन्ता पनि थियो तर अहिले निकै खुसी छौँ ।’


विगतमा सल्लाको दियो बालेको सम्झिँदै उनले भने, ‘हामी जंगलमा जान्थ्यौँ, सल्लाको रूखबाट झरो (दियो) निकाल्थ्यौँ । त्यसलाई सुकाउथ्यौँ र रातको समयमा बाल्थ्यौँ । अहिले बिजुली आउँदा म निकै खुसी छु । बटन थिच्यो पूरै झलमल्ल हुन्छ, हामीलाई धेरै सुविधा भएको छ ।’
   

गाउँमा विद्युत पुगेपछि विद्युत बाल्नदेखि टीभी, कम्प्युटर चलाउन र प्रविधिसँग जोडिन सहज भएको स्थानीय बिसन वडले बताए ।