close

गाउँमा बिजुली बलेपछि स्थानीयले भनेः स्याबास उपप्रमुखज्यू !

गाउँमा बिजुली बलेपछि स्थानीयले भनेः स्याबास उपप्रमुखज्यू !

Trulli
ADVERTISEMENT

डडेल्धुरा– डडेल्धुराको अमरगढी–३ चिरकिट्टेमा बल्ल बिजुली पुगेको छ । चार वर्षअघि यहाँका स्थानीयले जिल्ला सदरमुकाम डडेल्धुराबाट पोल बोकेर गाउँमा पुर्याएका थिए ।

 

तर ठेकेदार, केही स्थानीय र विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराको लापरवाहीले बिजुली बल्न सकेको थिएन ।

 

अमरगढी नगरपालिकाको पहल र विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा बिजुली बलेको हो । सोलार र टुकी (झरो) बालेर रात बिताउने यहाँका स्थानीय बिजुली पुगेपछि हर्षित छन् ।

 

चिरकिट्टे अमरगढी नगरपालिकाका उपप्रमुख संगिता भण्डारीको गाउँ हो । पहिलो पटक बिजुली पुग्दा गाउँ नै झलिमिली भएपछि स्थानीय केशव गिरीले भने, ‘स्याबास उपमेयर ज्यू गाउँमा बिजुली पुर्याउन सफल भएकोमा । बल्ल स्थानीय सरकारको अनुभुति भयो ।’

 

अमरगढी नगरपालिकाको चिरकिट्टे, ढोल पोखरा, सतकाटा, रोडङा र भागेस्वर गाउँपालिकाका खाल्टा, चौडलगायतका बस्तीमा बिजुली पुगेको हो । यहाँ बिजुली पुर्याउन उपप्रमुख भण्डारीले कडा मेहेनत गरेको स्थानीय बताउँछन् ।

 

स्थानीय भीमबहादुर पाण्डेय भन्छन्, ‘स्थानीयले पनि कडा मेहेनत गरेका थिए । बल्ल सफलता मिल्यो हामी यसैमा खुसी छौँ ।’ गाउँमा विद्युत पुगेसँगै विद्यालयमा पठनपाठनका लागि समेत सहज हुने स्थानीय बताउँछन् ।

 

कोरोनाका कारण गाउँमा बिजुली बाल्न ढिलो भएको अमरगढी–३ का वडाअध्यक्ष गोबिन्द बोहरा बताउँछन् । ठेकेदार र विद्युत कार्यालयको लापरबाही तथा स्थानीयले चासो नदिँदा बिजुली ढिलो पुगेको उनको भनाइ छ । चुनाब जित्नुअघि जनतासँग गरेको बाचा समेत पूरा गर्न सफल भएको उनले बताए ।

 

‘स्थानीय खुसी बनाउँन र वडाको विकासमा लागि परेको छु,’ उनले भने, ‘बिजुली नपुगेको ठाउँमा गएर विद्युत जडानका लागि आग्रह गरे । स्थानीय तयार भए । बिजुली बल्यो ।’

 

उपभोक्ताले मिटर नलगेको कारण ढिलो भएको र मिटर लग्ने बितिक्कै गाउँमा विद्युत पुगेको विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ । उपभोक्ताले मिटर लगेर जडान गरेपछि विद्युत प्राधिकरणले बिग्रिएको ठाउँमा मर्मत गरी विद्युत बालेकोे हो ।