close

तिलोत्तमाको चक्लाबन्दी आलु खेती

तिलोत्तमाको चक्लाबन्दी आलु खेती

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यो वर्षबाट ६० बिघा क्षेत्रफलमा आलुको सामूहिक खेती सुरु गरिएको छ । कोरोना महामारीमा स्थानीय स्तरमै रोजगारी अवसर सिर्जना गर्दै आलु उत्पादन बढाउन नगरपालिकाले किसानलाई व्यावसायिक आलु खेतीमा अग्रसर गराएको हो ।


किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्‍याउन नगरपालिका र युएनडिपीको सहयोगमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले आलुको बिजवृद्धि परियोजना सञ्चालन गरेको छ ।

 

निर्वाहमुखी खेती प्रणाली अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत आलुको व्यावसायिक खेती परियोजना सञ्चालन गरिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।


यसअघि घरपरिवारका लागि मात्रै आलु खेती गर्ने किसानले यो वर्ष परियोजनाअन्तर्गत ७ बिघासम्मको एउटै प्लटमा खेती गरेका छन् । विभिन्न वडाका २० समूह सामूहिक आलु खेतीमा आबद्ध रहेको सहकारी संस्थाकी अध्यक्ष सीता न्यौपानेले जानकारी दिइन् ।

 

नगरपालिका, युनएनडिपी र किसानको २ करोड ६३ लाख ७ हजार ६ सय ८८ रुपैयाँ लागत सहभागितामा सञ्चालन गरिएको परियोजनामार्फत किसानलाई अनुदानमा बिउ, मलखाद, कृषि उपकरण उपलब्ध गराइएको छ । यस्तै, किसानलाई आलु खेतीबारे आवश्यक ज्ञान, सीप प्रदान गर्न कृषि प्राविधिक तथा विज्ञ नियुक्त गरिएको छ । 
 
यो वर्ष बिजवृद्धिका लागि अधिकांश क्षेत्रमा पहिलो र दोस्रो पुस्ताको आलु खेती गरिँदै छ । यो वर्ष उत्पादित आलुलाई अर्को वर्ष बिउको रुपमा बिक्री गर्ने गरी कोल्डस्टोरमा राख्नेसम्मको योजना रहेको सहकारी व्यवस्थापक जमुना गिरीले बताइन् ।

 

परियोजनाले समूहलाई आलुको ड्याङ बनाउने, उकेरा लगाउने, फसल खन्नेलगायतका काममा प्रयोग हुने १७ लाख मूल्य बराबरका ११ पावर ट्रेलर मेसिन उपलब्ध गराएको छ । नगरप्रमुख घिमिरेले आलुबाहेक अन्य सिजनमा समेत सामूहिक र चक्लाबन्दी खेती गर्न किसानलाई किसानलाई नगरपालिकाले प्रोत्साहन गर्ने जानकारी दिए ।


‘व्यावसायिक खेती गर्ने किसानलाई सरकारी अनुदानमा प्राथमिकतामा राखेका छौं’, उनले भने, ‘यस क्षेत्रमा गुणस्तरीय बिउ उपलब्ध नभइरहेको अवस्थामा परियोजनाअन्तर्गत उत्पादित बिउले आगामी वर्षमा आलु उत्पादन वृद्धिमा ठूलो टेवा पुर्‍याउने नगरपालिकाको अपेक्षा छ ।’

 

निर्वाहमुखी आलु खेती गरेका किसानले मूल्य चुकाउँदासमेत गुणस्तरीय बिउ नपाउँदा लागतअनुसारको उत्पादन लिन सकेका छैनन् । नगरपालिकाले आलु उत्पादक कृषक समूहलाई दिगो बनाउन आगामी वर्षमा समेत बजेटको यथोचित व्यवस्था गर्ने नगरप्रमुख घिमिरेले बताए ।

 

वडा-१० को दुर्गामन्दिर अन्नबाली उत्पादक कृषक समूहले सबैभन्दा बढी ७ बिघामा आलु खेती गरेको छ । यस्तै, वडा- ७ को दर्शनटोला खाद्यान्न कृषि समूहले ६ बिघा, वडा-१० को धान खेतमा माछापालन कृषक समूह, वडा-१२ को समैया मकै उत्पादन कृषि समूह, वडा- १६ को बिउली आधुनिक तरकारी उत्पादक कृषक समूहले ५/५ बिघामा आलु खेती गरेका छन् ।


यस्तै, वडा-७ को सेमरा बजार तरकारी उत्पादक कृषक समूह, पंगेनी खाद्यान्न बाली उत्पादक कृषक समूह, वडा-११ का प्रजारानी कृषक समूह, आधुनिक तरकारी बाली उत्पादक कृषक समूह, कमलपोखरी कृषक समूह, वडा-१२ को बुद्धभूमि तरकारी उत्पादक कृषक समूहले ३-३ बिघामा आलु खेती गरेका छन् ।

 

वडा-४ का क्षितिज नमुना कृषक समूह, विष्णुभक्त तरकारी उत्पादक समूह, महिला जनसेवा आलु उत्पादक सहकारी संस्थाले साढे २ बिघामा आलु खेती गरेका छन् ।

 

वडा-१० को कोटहीमाई अन्नबाली उत्पादक कृषक समूहले २ तथा रोहिणी अन्नबाली उत्पादक कृषक समूह, कुञ्ज तरकारी उत्पादक कृषक समूह, चन्द्रसूर्य खाद्यान्न उत्पादक कृषक समूह, आदर्श तरकारी बाली उत्पादक समूह, प्रगतिशील महिला विकास सहकारीले १/१ बिघामा आलु खेती गरेका छन् ।