close

चाम्लिङ भाषा पढाउँदै दिक्तेल

चाम्लिङ भाषा पढाउँदै दिक्तेल

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ५ लफ्याङमा चाम्लिङ भाषामा पठनपाठन गर्ने तयारी गरिएको छ । वडा शिक्षा समिति एवं वडा कार्यालयको पहलमा लफ्याङका एउटा माध्यमिक विद्यालय र चारवटा आधारभूत विद्यालयमा चाम्लिङ भाषामा पठनपाठन गर्ने तयारी गरिएको हो । 


चाम्लिङ राई भाषीको बाहुल्य रहेको लफ्याङमा ऐच्छिक विषयका रूपमा एउटा विषय चाम्लिङ भाषाबाट पठनपाठन गर्ने निर्णय गरिएको वडा शिक्षा समितिका संयोजक एवं वडा अध्यक्ष निर्मल राईले बताए । 


चालू शैक्षिक सत्रबाट कक्षा १ देखि ऐच्छिक विषयका रूपमा चाम्लिङ भाषामा पठनपाठन गरिनेछ । आगामी शैक्षिक सत्रदेखि क्रमशः माथिल्लो कक्षामा चाम्लिङ भाषामा पठनपाठन हुने वडा कार्यालयले जनाएको छ । 


किरात राई चाम्लिङ खाम्बातिम र किरात राई यायोक्खाले प्रकाशन गरेको पाठ्यपुस्तकलाई नै पठनपाठनमा उपयोग गर्ने राईले बताए । कोभिड- १९ का कारण हालसम्म पठनपाठन बन्द छ । विद्यालय खुलेसँगै चाम्लिङ भाषामा पनि अध्ययन सुरु हुने जनाइएको छ । 


सम्बन्धित विद्यालयमा कार्यरत चाम्लिङ भाषी शिक्षकबाटै उक्त भाषाको अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४, मातृभाषा शिक्षासम्बन्धी नियम, कानुन र व्यवस्थाअनुसार वडाका विद्यालयमा चाम्लिङ भाषाको पठनपाठन गर्न लागिएको अध्यक्ष राईले बताए । 


चाम्लिङ राईको बाहुल्य रहेको हलेसी तुवाचुङ नगरपालिका- ८ धितुङका सात विद्यालयमा २०६५ सालदेखि एक विषय चाम्लिङ राई भाषामा पठनपाठन सञ्चालन हुँदै आएको छ । धितुङमा बुलापन्थे माविमा कक्षा ५ सम्म, सूर्यज्योति माविमा कक्षा ५ सम्म, जनचेतना प्राविमा कक्षा ५ सम्म, सर्वावती प्राबिमा कक्षा ५ सम्म, दलित जनजारण प्राविमा कक्षा ५ सम्म, जनकल्याण प्रावि कल्चुडेमा कक्षा ५ सम्म, सर्वावती प्राविमा कक्षा ५ सम्म र पारुहाङशरण प्राविमा कक्षा ३ सम्म एक विषय चाम्लिङ भाषामा पठनपाठन हुँदै आएको छ । 


सर्वावती प्राविमा चाम्लिङ भाषीले मात्र नभएर सबै जातजातिका विद्यार्थीले चाम्लिङ भाषाकै कोर्स अध्ययन गरिरहेका बुलापन्थे माविका शिक्षक रकम रोदुङले बताए । चाम्लिङ राई भाषाको पठनपाठनका लागि हलेसी तुवाचुङ नगरपालिकाले चालू आर्थिक वर्ष दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।