close

ओलाङ्चुङगोलाकाे ४५० वर्ष पुरानो गुम्बा जिर्णोद्धार हुँदै

ओलाङ्चुङगोलाकाे ४५० वर्ष पुरानो गुम्बा जिर्णोद्धार हुँदै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं- ७ ओलाङ्चुङगोलामा अवस्थित करिव ४५० वर्ष पुरानो दिकीछ्योलिङ गुम्बाको जिर्णोद्धार गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पुरातत्त्व विभागले जिर्णोद्धार कार्य गर्न लागेका हुन् । 


जीर्णोद्धार कार्यको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न पुरातत्त्वविद् काजीमान प्याकुरेल र इञ्जिनियर मुरारी गुरागाईंको टोली ओलाङ्चुङगोलातर्फ लागेको छ । नेपाल सरकारले दिकीछ्योलिङ गुम्बाको जिर्णोद्धारका लागि चालू आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेको छ । 


तयार भएको डीपीआरका आधार जिर्णोद्धार कार्य अघि बढाइने पर्यटनमन्त्रीका स्वकीय सचिव डण्डु लामाले बताए । यस वर्ष पूरा नभएका कार्य आगामी आर्थिक वर्षको बजेटमार्फत पूरा गर्ने पर्यटन मन्त्रालयले जनाएको छ । डीपीआर तयार गर्न ओलाङ्चुङगोला प्रस्थान गर्नुअघि डीपीआर कार्यमा खटिने टोलीले जिर्णोद्धार कार्यका बारेमा संघीय राजधानी काठमाडौंमा सरोकारवालासँग छलफलसमेत गरेको थियो । 


गुम्बाको महत्त्व र यसको जिर्णोद्धारका विषयमा डीपीआरमा खटिने टोलीलाई जानकारी गराइएको छलफलमा सहभागी तेञ्जिङ उक्यापले जानकारी दिए । जीर्ण भएको गुम्बालाई २०६८ र २०७२ सालको भूकम्पले थप क्षति पु¥याएर जीर्णोद्धार गर्न अनिवार्य अवस्थाको बनाएको फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्तासमेत रहेका ओलाङ्चुङगोला निवासी छेतेन वालुङ शेर्पाले जानकारी दिए । 


दिकी छ्योलिङ्ग गुम्बा आजभन्दा करिव ४५० वर्ष पहिला लामा एसेले बनाएका थिए भनिन्छ । यो गुम्बामा ऐतिहासिक बुद्धका मूर्तिहरू, अखण्ड बत्ती, चेरेसी च्याउ, जसमा बुद्ध मन्त्र ‘ॐ माने पेमे हुँ’ तिब्बती भाषामा कुँदिएकै अवस्थामा केही वर्षअघि नजिकैको जंगलको एउटा रूखको टुप्पोमा पाइएको थियो भनिन्छ ।