close

गाउँमा उद्यम गर्नेलाई बिनाधितो १० लाखसम्म कर्जा

गाउँमा उद्यम गर्नेलाई बिनाधितो १० लाखसम्म कर्जा

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– अध्यक्ष उद्यमशिलता कार्यक्रम मार्फत उद्यम गर्न चाहने गाउँपालिका भित्रका स्थानीयलाई लक्षित गरेर लिसंखुपाखर गाउँपालिकाले विनाधितो ऋण अनुदानका लागि प्रक्रिया सुरु गरेको छ ।


गाउँमै बसेर उद्यम गर्न चाहने स्थानीयलाई लक्षित गरेर लिसंखुपाखर गाउँपालिकाले विनाधितो १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन यसअघि नै नेपाल बैंकसंँग सम्झौता गरिसकेको छ ।


गाउँपालिकाले १ प्रतिशत ब्याजदरमा उद्यम गर्न चाहनेहरुका लागि ऋण उपलब्ध गराउने नयाँ कार्यक्रम सुरुवात गरेको थियो । नेपाल बैंकसँग दशैअघि नै सम्झौता भएपनि कोरोनाका कारण केही समय कार्यालय बन्द भएपछि अहिले यसका लागि निवेदन माग भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले जानकारी दिए ।

 

गाउँमा नै उद्यम व्यवसाय गर्न जोसजाँगर भएपनि आर्थिक अभावमा समस्यामा परेकालाई लक्षित गरेर कार्यक्रम सुरु गरेको र पहिलो वर्ष ५ करोड सम्म १ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

 

गाउँपालिकाले २८ कात्तिकभित्र वडाको सिफारिससहित आफुले सुरु गर्ने व्यवसायको प्रकृति उल्लेख गरेर निवेदन दिन गाउँपालिका भित्रका स्थानीयलाई आग्रह गरिएको अध्यक्ष नेपालले जानकारी दिए ।

 

गाउँपालिकाले कार्यविधि नै बनाएर बिनाधितो १ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने भएपछि  गाउँपालिकाका धेरै स्थानीय यो कर्जा लिन इच्छुक देखिएको अध्यक्ष नेपालले जानकारी दिए ।


पहिलो चरणमा १० दिनको म्याद राखेर आवश्यक कागजपत्र मात्रै माग गरिएको र त्यसपछि पेशा व्यवसायलाई वर्गीकरण गरेर अरु प्रक्रिया सुरु गरिने प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए ।

 


१० दिन भित्र आएका निवेदनलाई वर्गीकरण गरेर आवश्यक परेमा तालिम समेत सञ्चालन गरेर त्यसपछि मात्रै ऋणका लागि बैंकलाई सिफारिस गरिने गाउँपालिकाले जानकारी दिएको छ ।


अध्यक्ष उद्यमशीलता विकास कार्यक्रममा गाउँपालिकाले उद्यम गर्न चाहने सबैलाई समेटेर कर्जा उपलब्ध गराउनेछ । गाउँपालिकाको प्रमुख प्राथमिकतामा भने वैदेशिक रोजगारीबाट फर्केर गाउँमै उद्यम, व्यवसाय गर्ने चाहने तर आर्थिक अभावमा नभएकाहरू रहनेछन् ।  

 

त्यसैगरी व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाअन्तर्गत १९ प्रकृतिको व्यवसायका लागि सहुलियत कर्जा गाउँपालिकाले उपलब्ध गराउनेछ । शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा पनि गाउँपालिकाले उपलब्ध गराउनेछ ।


कृषि व्यवसाय उत्पादन, प्रशोधन, भण्डार तथा बिक्री वितरणका लागि पनि यो कर्जा उपलब्ध गराइने गाउँपालिका उपाध्यक्ष हेमगंगा मोक्तानले बताइन् । ‘किसानलाई खाद्यान्न, नगदेबाली, फलफूल, जडीबुटी, सिँचाइ उपकरण, कृषि औजार खरिदका लागि पनि कर्जा उपलब्ध गराइनेछ’, उपाध्यक्ष मोक्तानले भनिन् ।

 

गाउँपालिकाले यसअघि कृषिलगायतका क्षेत्रमा ५० हजारदेखि १ लाखसम्म अनुदान उपलब्ध गराउँदै आएको थियो । तर, त्यो अनुदानको प्रभावकारिता नदेखिएकाले नयाँ कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

 

राष्ट्रबैंकले सहुलियतपूर्ण कार्यविधि, २०७५ अनुसार विभिन्न क्षेत्रमा लगानी गर्न बैंकहरूलाई निर्देशन दिएको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए ।

 

स्थानीयले लिएको सहुलियत कर्जाको व्याजदरका लागि गाउँपालिकाले नेपाल बैंकमा पहिलो वर्ष १ करोड ५० लाख रुपैयाँ मुद्दती खातामा जम्मा गर्नेछ । उक्त रकमबाट गाउँपालिकाले एक वर्षमा साढे १० लाख रुपैयाँ ब्याज दिनेछ । एक वर्षमा गाउँपालिकाले ५ करोड लगानी गरे करिब १६ लाख ब्याज बैंकलाई बुझाउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुलाल बताउँछन् ।