close

दमक नगरमा रात्रिकालीन निषेधाज्ञा

दमक नगरमा रात्रिकालीन निषेधाज्ञा

Trulli
ADVERTISEMENT

झापा - झापाको दमक नगरपालिकाले बुधबार अपराह्न ४ देखि बिहान ७ बजेसम्म दमकमा निषेधाज्ञाको उर्दी जारी गरेको छ । दमकमा समुदाय स्तरमै कोरोना जोखिम बढेपछि नगरभरि निषेधाज्ञा जारी गरिएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् ।

 

नगरप्रमुख रोमनाथ ओली अध्यक्षताको कोरोना रोकथाम तथा समन्वय समिति बैठकले बुधबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाका बेला अत्यावश्यकबाहेकका सबै सबै ठप्प हुनेछन् ।

 

‘स्थानीयले लकडाउन गर्नुपर्ने आवाज उठाए पनि मुख्य राजमार्गसँग जोडिएको नगरपालिका भएकाले आंशिक समय मात्र निषेधाज्ञा जारी गरेका हौं’, उपप्रमुख अधिकारीले भनिन् । नगरमा बेलुकी समय अनावश्यक भीडभाड बढी हुन थालेपछि त्यसलाई रोक्न नागरिकलाई हिँडडुलमा समेत रोक लगाइएको नगरपालिकाले जनाएको छ ।

 

बेलडाँगीमा ठडियो कोभिड अस्पताल

 

दमककै बेलडाँगीमा निर्माणाधीन अक्सिजनसहितको ३० शैयाको कोभिड अस्पताल आगामी आइतबारदेखि सञ्चालन ल्याउने निर्णय बैठकले गरेको छ ।


वडा-वडामा स्वास्थ्यकर्मी परिचालन गरेर कोरोना संक्रमितको अवस्था बुझ्ने र आवश्यक स्वास्थ्य उपचारको बन्दोबस्ती गर्ने निर्णय बैठकले पारित गरेको उपप्रमुख घिमिरेले बताइन् । 

 

कोरोनाको तीव्र फैलावटसँगै मंगलबार बिहानै दमक नगरपालिकाले सर्वदलीय बैठक डाकेको थियो । तर, सर्वदलीय बैठकमा निषेधाज्ञा गर्ने विषयमा सहमति जुटेन । त्यसपछि कोरोना रोकथाम तथा समन्वय समितिको बैठक बसेको थियो ।

 

नगरभित्र हालसम्म १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने ४ सय ६१ मा कोरोना पुष्टि भएको छ । २ सय ९४ जना उपचारपछि निको भएका छन् । हाल नगरमा १ सय ४८ सक्रिय संक्रमित उपचाररत छन् । मंगलबार मात्रै नगरभित्र ३० जनामा संक्रमण देखिएको छ ।