close

पालिका केन्द्रसम्मै पुग्ने बाटो बनाउँदै सिरिजंघा

पालिका केन्द्रसम्मै पुग्ने बाटो बनाउँदै सिरिजंघा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले सवारी साधनमार्फत आफ्नो गाउँपालिका केन्द्रसम्मै पुग्न छिमेकी स्थानीय तहको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटाउने भएको छ । गाउँपालिकाको केन्द्र वडा-४ तेल्लोेकबाट वडा-५ पेदाङ, वडा-७ खेवाङ र वडा- ८ याम्फुदिन पुग्न अहिले छिमेकी तह सिदिङ्वाको मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले आफ्नै पालिकाको भूगोलभित्रको सडक प्रयोग गरी पालिकाको केन्द्रबाट प्रत्येक वडासम्म जोड्ने सडक मार्ग निर्माण योजना अगाडि बढेको जानकारी दिए ।


‘त्यसका लागि वडा-४ तेल्लोक र वडा- ५ पेदाङको सीमा क्षेत्र जोरपुलबाट राष्ट्रिय मावि पेदाङ-आँपडाँडा-फेरे-मानेडाँडा हुँदै खेवाङ जाने मोटरबाटोलाई गाउँपालिकाको गौरवको आयोजनाभित्र समेट्दै छौं’, उनले भने ।


५ करोड रुपैयाँ बढीको लागत अनुमान गरिएका विकास निर्माणलाई पालिकाले गौरवका आयोजनाको रुपमा समेट्ने कार्ययोजना तयार गरेको छ । घिमिरेका अनुसार गौरवको आयोजनाका लागि नेपाल सरकारबाट स्वीकृत उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम सञ्चालन कार्यविधिबमोजिम प्राप्त हुने सबै रकम आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइनेछ।

 

गाउँपालिकाले यो सडकबाहेक पालिकाको केन्द्र तेल्लोकको हेलिप्याडमा कृषि बजार निर्माणलाई समेत गौरवको आयोजनामा समेट्ने भएको छ । फलफूल र खाद्यान्नलाई बेग्लाबेग्लै ब्लकबाट बिक्री गर्ने गरी निर्माण गरिने कृषि बजार केन्द्रलाई बहुवर्षीय आयोजनाको रुपमा समेटिनेछ ।


‘गाउँभित्रकै सडक प्रयोग गरी पालिकाभित्र उत्पादित कृषि उपजलाई कृषि बजार केन्द्रमार्फत बिक्री हुने व्यवस्था मिलाउने तयारी छ’, घिमिरेले भने ।