close

गाउँपालिकाको अनुदानमा ड्रागन फ्रुट खेतीमा युवा

गाउँपालिकाको अनुदानमा ड्रागन फ्रुट खेतीमा युवा

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेती सुरु गरेका छन् । साकेला गाउँपालिकाले अनुदान प्रदान गरेपछि स्थानीय पर्वत राई, सन्तराज राई, मिसन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फर्म दर्ता गरेर सामुहिकरुपमा ड्रागन फ्रुटको खेती सुरु गरेका हुन् ।


आर्थिक वर्ष २०७६÷०७७ मा गाउँपालिकाले उपलव्ध गराएको आठ लाख अनुदान र ड्रागन फर्म सञ्चालकको चार लाख गरी १२ लाखमा ड्रागन फ्रुटको खेती सुरु गरिएको हो । पहिलो चरणमा झापाबाट तीन हजार विरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती लगाइएको सञ्चालक पर्वत राईले बताए । खरिद गरेर ल्याइएका विरुवामध्ये आधा संख्याको बिरुवा रोपेर अन्य बिरुवा नर्सरीमा राखिएको छ ।


फर्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउनका लागि रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन् । पिलर नजिकै रोपिएको ड्रागन फ्रुटको बिरुवा बढेर पिलर जत्तिकै अग्लो भएपछि पिलरमाथि बंग्याइएको रडमा साईकलको टायर राखेर ड्रागनको बोट झुण्डिने ठाउँ बनाइने छ ।


ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिएर खेती लगाइएको राईले बताए । जिल्लाकै हलेसी तुवाचुङ नगरपालिकाले ड्रागन फ्रुटको खेतीलाई मध्यनजर गर्दै किसानलाई तालिम दिएको केही समयपछि रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेतीमा लगानी गरेका हुन् । उनीहरुले आगामी वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरेका छन् ।


पालिका स्तरीय नमूना कृषि फर्म स्थापना तथा सिँचाई केन्द्र शीर्षकमा विनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती सुरु गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । चार युवाले यू–टुव हेरेर समुद्री सतहबाट करिब १ हजार १ सय मिटर उचाईमा रहेको जग्गामा ड्रागन फ्रुटको खेती लगाएका हुन् ।


 उनीहरुले ड्रागन फ्रुटको फर्मसँगै नर्सरी समेत बनाएका छन् । उत्पादित नर्सरी सहुलियत मूल्यामा बिक्री गरिने राईले बताए । ६ ईन्च अग्लो बिरुवा प्रतिगोटा दुई सय र ६ ईन्चभन्दा अग्लो बिरुवाको मूल्या प्रतिवटा साँढे तीन सय पर्ने फर्मले जनाएको छ । ‘ड्रागन फ्रुटको बिरुवालाई उभ्याउनका लागि सिमेन्टेड थाँक्रो चाहिन्छ, कंक्रिट थाँक्रो भएन भने यसको खेती गर्नै सकिन्न,’ राईले भने, ‘पिलर बनाएर स्थायी थाँक्रो बनाउनुपर्ने भएकाले ड्रागनको खेती अलि महंगो पर्दो रहेछ ।’