close

मैवाखोलामा सडक खन्दा नाली निर्माण अनिवार्य

मैवाखोलामा सडक खन्दा नाली निर्माण अनिवार्य

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका क्षेत्रमा निर्माण हुने सबै किसिमका सडकमा नाली निर्माणलाई अनिवार्य गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत नाली निर्माण अनिवार्य गरिएको थियो ।


यस वर्षको लागत स्टिमेट पनि सोहीअनुसार तयार गरिएको गाउँपालिकाका सबइञ्जिनिजयर आशीष घिमिरेले जानकारी दिए । 

 

‘नाली निर्माणपछि सडकमा पानी र भेल नपस्ने भएकाले बाह्रैमास सञ्चालन आउन सक्छ । त्यसका लागि पालिकाले चालू वर्षबाट सडकमा नाली निर्माण अनिवार्य गरेको हो’, गाउँपालिका अध्यक्ष राजनकुमार थक्लुङले भने, ‘चालू आवमा निर्माण हुने सबै सडकमा नाली निर्माणसहितको पूर्वाधारको लागत स्टिमेट तयार भएको छ ।’

 

गाउँपालिकाले पालिकाभित्र निर्माण हुने सडकको वर्गीकरण गरी त्यसको क्षेत्राधिकारसमेत निर्धारण गर्ने भएको छ । चालू वर्षमा निर्माण हुने सडकका लागि यसअघि नै सडकको क्षेत्राधिकार तोकिसकेकाले अन्यका हकमा हिउँदे गाउँसभाले क्षेत्राधिकार निर्धारण गर्ने अध्यक्ष थक्लुङले बताए ।

 

पालिकाभित्रका मुख्य र शाखा सडकलाई बाह्रैमास सञ्चालनयोग्य बनाउन ह्युम पाइप राख्ने, भूमिगत मार्गमार्फत पानी कटाउने र नालीबाट व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको उनले जानकारी दिए । पालिकाभित्रका शाखा सडक बनाउँदा गह्रौं निर्माण उपकरणको सट्टा मानव स्रोत परिचालनलाई प्राथमिकता दिने नीति गाउँपालिकाको छ ।

 

खाद्यान्न फल्ने जग्गामा प्लटिङ निषेध

 

मैवाखोलाले पालिकाभित्र खाद्यान्न उब्जाउ हुने जग्गा प्लटिङमा रोक लगाएको छ ।


पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले खाद्यान्न उत्पादन हुने जग्गामा प्लटिङ र भवनसहितका पूर्वाधार निर्माण गर्न नपाइने गाउँपालिकाले निर्णय गरेको जानकारी दिए ।