close

नगर विकास कोषको विशेष प्राथमिकतामा नवप्रवर्तक आयोजना

नगर विकास कोषको विशेष प्राथमिकतामा नवप्रवर्तक आयोजना

Trulli
ADVERTISEMENT

काठमाडाैं - शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ तथा शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष डा. रमेशप्रसाद सिंहले नगर विकास कोषको भ्रमण गरेर कोषका विविध विषयहरूमा जानकारी लिएका छन् ।


कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले मन्त्री तथा सचिवलाई कोषका कार्यक्रमहरू र आगामी कार्यदिशाका बारेमा जानकारी गराए । मन्त्री श्रेष्ठले कोषका कार्यक्रमहरूको प्रशंसा गर्दै कोषलाई अझ सुदृढ र सबल संस्थाका रूपमा स्थापित गर्न आफ्नो तथा मन्त्रालयका तर्फबाट प्राथमिकताका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । 


कोषको पूँजी संरचना वृद्धिसँगै शहरी पूर्वाधार विकास निगममा रूपान्तरण गर्नका लागि प्रस्तावित शहरी पूर्वाधार विकास निगम ऐेनलाई कार्यान्वनमा ल्याउन आफ्नो तथा मन्त्रालयको तर्फबाट महत्त्वपूर्ण पहल हुने मन्त्री श्रेष्ठको भनाइ थियो ।


मन्त्री श्रेष्ठले कोषले अगाडि सारेका नवप्रवर्तक आयोजनाहरू शहरी पूर्वाधारका लागि अत्यावश्यक भएकाले त्यस्ता आयोजनाहरूको कार्यान्वयनलाई विशेष प्राथमिकता दिई आगाडि बढाउन निर्देशनसमेत दिए ।


मन्त्रालयका सचिव एवं नगर विकास कोषका अध्यक्ष डा. सिंहले वर्तमान शहरी पूर्वाधार विकासको आवश्यकतालाई सम्बोधन गर्ने गरी शहरी पूर्वाधार विकास निगम, ऐनलाई कार्यान्वयनमा ल्याउनका लागि मन्त्रालयको तर्फबाट प्राथमिकता दिइने बताए । सचिव सिंहले नगर विकास कोषको कार्यक्षेत्रलाई अझै विस्तार गर्दै शहरी पूर्वाधारका क्षेत्रमा ऋण लगानीका साथै सामाजिक पूर्वाधारका क्षेत्रलाई पनि प्राथमिकता दिई कार्ययोजना बनाउन निर्देशन दिए । 


उनले शहरी पूर्वाधारका आयोजनाहरूको विकासमा शहरी विकास तथा भवन निर्माण विभाग र कोषबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।