close

संघीय संसद्को विकास समिति जुम्लामा

संघीय संसद्को विकास समिति जुम्लामा

Trulli
ADVERTISEMENT

जुम्ला - संघीय संसद्को विकास तथा प्रविधि समिति सभापति तथा सांसद कल्याणीकुमारी खड्कासहितको टोली कर्णालीमा विकास निर्माणका गतिविधि अनुगमनका लागि जुम्ला पुगेको छ । विकास समितिको टोलीले जुम्लामा राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि र सरोकारवालासँग छलफल चलाएको छ ।


समितिले सदरमुकाम खलंगमा गरेको अन्तरक्रियामा स्थानीय सरोकारवालाले कर्णाली राजमार्गको स्तरवृद्धिसहित विकासमा बजेट अभाव भएको बताए ।


कर्णालीमा भइरहेका विकास तथा कर्णाली राजमार्ग, कर्णाली करिडोरसहितका सडक अनुगमनपछि जुम्ला पुगेकी समिति सभापति खड्काले यस क्षेत्रमा समानताको आधारमा नभई समतामूलक बजेट आवश्यक रहेको बताइन् । त्यसका लागि सरकारलाई विशेष ध्यानाकर्षण गराउने उनले जानकारी दिइन् ।

 

‘नीतिगत रुपमा सार्वजनिक खरिद ऐन संशोधनसहित धेरै कुरा परिवर्तन गरिनुपर्छ । सडक जीवनमार्ग भएकाले बजेटलाई मूल सडकमै लगानी गर्न सरकारको ध्यानाकर्षण गर्छौं’, खड्काले भनिन् ।


संघीय सांसद गजेन्द्रबहादुर महतले कर्णालीमा भूगोलका आधारमा बजेट विनियोजन हुनुपर्ने माग गरे । यसका लागि संसद्मा पटक-पटक आवाज उठाइरहे पनि सुनुवाइ नभएको उनले बताए ।

 

‘कर्णाली राजमार्गसहित रारा-सिञ्जा-नाग्म-गमगढी राजमार्ग, सुर्खेत-जुम्ला छोटो राजमार्ग र बिजुली यहाँको प्राथमिकता हो । त्यसका लागि समितिले सरकारलाई सुझाव दिनेछ,’ महतले भने ।

 

पूर्वराज्यमन्त्री बलबहादुर महतले जुम्ला विमानस्थलको विस्तार गरी कर्णालीको हब तथा प्mयुल सेन्टर स्थापना गर्न सर्भे भइसकेकाले कार्यान्वयनको पहलका लागि विकास समितिको ध्यानाकर्षण गराए ।

 

जिससका कार्यवाहक प्रमुख कार्मा बुढाले कर्णालीमा टेलिफोन सेवा र इन्टरनेट राम्रो नभएकाले नागरिकले सधैं सास्ती बेहोर्नु परेको जानकारी गराए । चन्दननाथ नगरप्रमुख कान्तिका सेजुवालले स्थानीय सरकारसहित सबै मिलेर आवश्यकताका आधारमा विकास निर्माणमा बजेट विनियोजन गर्न जोड दिइनुपर्ने आवश्यकता औंल्याइन् । 


नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले नीतिमै स्थानीय निर्माण व्यवसायीले सीधै काम गर्न नसक्ने भनिएकाले समस्या देखिएको दाबी गरे । ‘कर्णाली घुम्न आएपछि मात्रै राज्यका उपल्लो निकायले कुरा निकाल्ने तर काठमाडौं फर्किएपछि बिर्सिने समस्या छ यसलाई सुधारिनुपर्छ’, उनले भने ।


कर्णालीमा सडकको अवस्थाका विषयमा सडक डिभिजन कार्यालयले संघीय टोलीलाई प्रस्तुतीकरण गरेको थियो ।


अघिल्लो वर्ष विकास समितिको टोलीले हेलिकोप्टरमार्फत कर्णाली करिडोरसहितको भ्रमण गर्दा सडकमार्फत अनुगमन गर्न सुझाइएको थियो । समितिको टोलीले नेपालगञ्ज हुँदै सुर्खेत, मुगु, जुम्ला र कालिकोटमा सडक अनुगमन गरेको थियो ।


छलफलमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले स्थानीय स्तरमा सडक अनुगमन समिति गठन गरिन लागेको जानकारी दिए । कार्यक्रममा विभिन्न स्थानीय राजनीतिक दलका प्रतिनिधि, प्रदेश सदस्य पूर्णप्रसाद धिताललगायतले कर्णालीको विकासमा संघीय सरकारबाटै पहल हुनुपर्नेमा जोड दिए ।