close

बागमती नगरप्रमुख थापाको महत्त्वाकांक्षी योजना फनपार्क निर्माण सम्झौता, एक वर्षमा बन्ने

बागमती नगरप्रमुख थापाको महत्त्वाकांक्षी योजना फनपार्क निर्माण सम्झौता, एक वर्षमा बन्ने

Trulli
ADVERTISEMENT

सर्लाही– बागमती नगरको गौरवको आयोजनाको रूपमा रहेको फनपार्कको निर्माण ठेक्का सम्झौता भएको छ ।


मंगलबार ठेक्का सकारेको निर्माण व्यवसायी गौरी पार्वती सुनकोसी धुलिखेल जेभी नयाँ बानेश्वर काठमाडौं र बागमती नगरपालिकाबीच ठेक्का सम्झौता भएको हो । १७ करोड रुपैयाँमा ठेक्का सकारेको निर्माण कम्पनीले योजनाको ९० प्रतिशत काम सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ ।


फनपार्क एक वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।


पूर्व–पश्चिम राजमार्गबाट दुई किलोमिटर उत्तर बागमती नगरपालिका– ११ स्थित बुद्ध शान्ति तपोवन नजिक निर्माण हुन लागेको पार्कको क्षेत्रफल ६७ रोपनी रहेको नगरपालिकाका इन्जिनियर सागर पौडेलले बताए ।


ठेक्का सकारेको निर्माण कम्पनीले सम्झौतालगत्तै निर्माण आरम्भ हुने जनाएको छ । फनपार्क निर्माण हुने भएपछि स्थानीय तथा नगरवासी उत्साहित भएका छन् ।


फनपार्कको पर्खाल निर्माणलगायतका केही कामबाहेक सम्पूर्ण निर्माणका काम यसै ठेक्कामा सम्पन्न हुने नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले बताए ।


पवित्र तीर्थस्थल नुनथर र बागमती नदी किनार तथा चुरे शृंखलाको काखमा रहेको यो फनपार्क पर्यटकीय हिसाबले प्रदेश २ कै नमुना हुने नगरपालिकाको अपेक्षा छ ।


बागमती नगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएलगत्तै नगरप्रमुख भरतकुमार थापाले नगरको महत्त्वाकांक्षी योजनाको रूपमा फनपार्क निर्माणको अवधारणा अगाडि सारेका थिए । निर्माण स्थलको छनोट, जग्गा अधिग्रहण, मुआब्जा वितरण, ठेक्का प्रक्रियालगायतका कामले फनपार्क निर्माणमा केही ढिलाइ भएको थापाले बताए ।


‘हामी यस क्षेत्रलाई बागमतीको मात्र होइन, प्रदेश २ कै पहिचानको क्षेत्र बनाउने अभियानमा छौँ’, थापाले भने ।


योजना महत्त्वाकांक्षी भए पनि यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा समेत यसले टेवा पु¥याउने उनकोे दाबी छ । स्थानीय संस्कार–संस्कृति र रहनसहनसमेत पार्कको आकर्षणको केन्द्र बन्ने थापाले बताए ।


पार्कमा सुविधा सम्पन्न अतिथि गृह, स्विमिङ पुल, पिकनिक स्पट, बालबालिकाहरूका लागि खेल्ने सामग्रीसहितको पार्क, होटल र पसल निर्माण गरिनेछ । पार्कसँगै रहेको बागमती नदीमा पर्यटकहरूका लागि बोटिङको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।


सुरुमा फनपार्कको लागत २५ करोड रुपैयाँ अनुमान गरिएको भए पनि ९० प्रतिशत कामका लागि १७ करोड रुपैयाँमा ठेक्का लागेको हो । पार्कको तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहालले १३ वैशाख २०७५ मा शिलान्यास गरेका थिए ।