close

गलकोटको सूचनामा नेकपाको आपत्ति

गलकोटको सूचनामा नेकपाको आपत्ति

Trulli
ADVERTISEMENT

बागलुङ - जिल्लाको गलकोट नगरपालिकाले जारी गरेको घर कायम तथा नक्सा पाससम्बन्धी सूचना जनचाहनाविपरीत रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गलकोट नगर कमिटीले आपत्ति जनाएको छ ।


बुधबार नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउँदै नेकपाले घर कायम तथा नक्सा पाससम्बन्धी बाध्यकारी सूचना तत्काल सच्याउन आग्रह गरेको हो । नगरपालिका गठन हुनुपूर्व बनेका घरहरू कायम गर्ने र नक्सा पास गर्ने तथा त्यसयता भनेका घरहरूको विषयमा पुनर्विचार गर्नुपर्ने भन्दै नेकपाले नगरको सूचनामा आपत्ति जनाएको हो ।


पटकपटक विधि परिवर्तन गर्ने र कायम भइसकेका घरलाई समेत पुनः कायम गर्न बाध्य बनाई राजस्व असुलीमा नगरपालिका लागेको नेकपाको आरोप छ । निजी क्षेत्रका कन्सल्टेन्टलाई काममा लगाएर नगरले जनतालाई दुःख दिएको नेकपाको दाबी छ ।

 
घर कायम तथा नक्सा पाससम्बन्धी सूचना सच्याउनुपर्ने, अवैधानिक तरिकाले घर नक्सा बनाउन लगाई लिइएको रकम तुरुन्त फिर्ता दिनुपर्ने, एउटै विषयमा दोहोरो कर बन्द गर्नुपर्ने र वडाको सिफारिसका आधारमा सहज तरिकाले घर कायमको व्यवस्था गर्नुपर्ने नेकपाको माग छ । 


नगर कमिटीका अध्यक्ष ललितबहादुर क्षेत्रीलगायतको टोलीले नगरप्रमुख भरत शर्मा गैरेलाई ज्ञापनपत्र बुझाएको थियो । गलकोट नगरपालिकाले बनिसकेका घरहरूलाई सहज हिसाबले घर नक्सा पास हुनेगरी गत २५ भदौमा सूचना जारी गर्दै घर नक्सा पासका लागि आह्वान गरेको थियो । 


‘कोरोना महामारीमा रोजगारी गुमाइएको र आर्थिक संकट बढेको बेलामा सूचना जारी गरी आमनागरिकको ढाड सेक्न बढी रकम असुली गरिएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘घर नक्सा ऐन पास गर्नुपूर्व निर्माण भएका घर कायम गर्न तथा नगरपालिकाभित्र घर सूचीकृत गर्न दोहोरो कर कायम तत्काल खारेज गर्नुपर्छ ।’


नेकपा नगर कमिटीले पुराना घर कायम गर्न नक्सा बनाउने र पास गर्ने प्रक्रिया तत्कालै बन्द गर्न, अवैधानिक तरिकाले लिएको रकम तत्कालै फिर्ता गर्न, एउटै विषयमा दोहोरो कर नलिन र वडाको सिफारिसका आधारमा सहज ढंगले घर कायम गर्न माग गरेको छ ।

 

यस्तै, नगरपालिका आइसकेपछि पनि विनाअनुमति निर्माण भइरहेका संरचनाका विरुद्धमा नगरपालिका मुकदर्शक बनेको आरोप छ । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख भरत शर्मा गैरेले नगरसभाबाट भएको निर्णयअनुसार आफूहरू अघि बढेको र नेकपाको सुझावलाई आत्मसात गर्ने बताए ।