close

२ जिल्ला जोड्ने लिमचुङबुङ-हलेसी केबलकार बन्दै, ४ घण्टाको बाटो अब १५ मिनेटमै

२ जिल्ला जोड्ने लिमचुङबुङ-हलेसी केबलकार बन्दै, ४ घण्टाको बाटो अब १५ मिनेटमै

Trulli
ADVERTISEMENT

उदयपुर - उदयपुरको लिमचुङबुङ गाउँपालिकाले पूर्वको पशुपतिनाथ भनिने खोटाङको त्रि-धार्मिक तीर्थस्थल हलेसीसम्म उदयपुरको लिम्चुङबुङ गाउँपालिकादेखि केबलकार सञ्चालन गर्न सम्भाव्यता अध्ययन थालेको छ ।

 

दुई जिल्ला जोड्ने योजना उदयपुरकै सबैभन्दा अग्लो लिम्चुङबुङ गाउँपालिका- ३ को भैयचुङडाँडा (एभरेस्टभ्यु टप) देखि खोटाङको हलेसी-तुवाचुङ नगरपालिकाको हलेसी धामसम्म ‘अफरोड’ आउजाउ सहज गर्न केबलकारको अवधारणासहित सम्भाव्यता अध्ययन थालिएको हो ।

 

हलेसी महादेव केबलकार प्रालि काठमाडौंका इन्जिनियर मिलन अधिकारी नेतृत्वको प्राविधिक टोलीले भैयचुङदेखि हलेसीसम्म स्थलगत अध्ययन थालेको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले जानकारी दिए । 


‘काठमाडौंदेखि आएको केबलकार विज्ञ टोलीले अध्ययन थालेको हो । केबलकार सञ्चालनबारे स्थानीय जनप्रतिनिधि, सरोकारवाला र सम्बन्धित निकायसँग सामूहिक छलफल गरेपछि टोली स्थलगत अनुगमन अध्ययनमा निस्किएको हो’,  अध्यक्ष राईले भने ।

 

टोलीले जिपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणाली र स्थलगत अनुगमन दुवैमार्फत अध्ययन गरिरहेको छ । प्रारम्भिक अध्ययनले यो स्थानमा केबलकार सञ्चालन गर्न सकिने टोलीले बताएको अध्यक्ष राईको भनाइ छ ।

 

‘टोलीले गरेको गुगल र भौगर्भिक अध्ययनमा भ्युटपदेखि हलेसीसम्म केबलकार लैजान सम्भव देखिएको छ,’ टोलीसँगै रहेका अध्यक्ष राईले भने, ‘अब प्राविधिक पाटोबाट सर्भे गन छलफल सुरु भएको छ ।’


टोली प्रमुख इन्जिनियर अधिकारी प्रारम्भिक अध्ययनले केबलकार सञ्चालन गर्न सम्भव देखिएको बताउँछन् । उनका अनुसार अध्ययनले काठमाडौंको चन्द्रागिरिमा भन्दा हलेसीमा सहजै केबलकार सञ्चालन गर्न सकिने देखाएको छ । 

 

‘लागतको हिसाबले केही महँगो पर्ने भए पनि योजना ‘फिजिबल’ देखिएको छ । अध्ययनको नतिजा प्रशोधनपछि यथार्थ लागत र दूरी पत्ता लाग्नेछ’, अधिकारीले भने ।


लिम्चुङबुङले भैयचुङ डाँडामा महत्वाकांक्षी ‘एभरेस्ट भ्युटावर’ योजना पनिअघि बढाएको छ । समुद्री सतहदेखि २ हजार ३ सय मिटर उचाइको सो ठाउँमा ७२ फिटको कलात्मक र आकर्षक भ्युटावर बनाएर सगरमाथालगायत ८ वटै हिमशृंखलाको दृश्यावलोकन गराउने योजना गाउँपालिकाले अघि सारेको छ ।

 

गत आर्थिक वर्ष प्रारम्भिक सर्भेक्षण गरेर चालू आवमा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको भ्युटावर निर्माण भइरहेको छ। कच्ची सडकले जोडिएका भ्युटावर स्थलदेखि हलेसीसम्मको सडक दूरी ३५ किलोमिटर छ । भ्युटावर निर्माणस्थल भैयचुङदेखि हलेसीसम्मको यो दूरी पार गर्न अहिले साढे ३-४ घन्टा लाग्छ ।


केबलकार जडान भए यो दूरी १५ मिनेटमा पार गर्न सकिने अनुमान छ । केबलकार जडान गर्न सके सुनसरी, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाली, सिन्धुलीलगायत भारतका भक्तजनलाई समेत सदरमुकाम गाईघाट हुँदै भ्युटप पुगेर हलेसी दर्शन गर्न सहज हुनेछ ।


त्यसैले त्रि-धार्मिक स्थलको विकास र पर्यटन प्रवर्द्धन गर्न दुवै स्थानीय तहले केबलकारको योजना बुनेका हुन् । ‘यसलाई सार्थक बनाउन सके उदयपुर र खोटाङको भविष्य सुन्दर हुने थियो’,, उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद सुरेशकुमार राई भन्छन् ।