close

बन्दीपुरमा ‘गाउँ प्रमुखसँग रोजगार’ कार्यक्रम

बन्दीपुरमा ‘गाउँ प्रमुखसँग रोजगार’ कार्यक्रम

Trulli
ADVERTISEMENT

तनहुँ - गाउँमा रहेका युवालाई गाउँमै रोजगार दिने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँ प्रमुखसँग रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । सीप भएका तर रोजगारी नभएका युवालाई लक्षित गरी गाउँपालिकाले ‘गाउँ प्रमुखसँग रोजगार’ कार्यक्रमको अवधारणा ल्याएको हो । 

 

युवालाई रोजगारी दिने उद्देश्यसहित जिल्लामै पहिलोपटक बन्दीपुरले सो कार्यक्रम शुरु गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । “यस कार्यक्रममार्फत् विभिन्न योजनामा गाउँपालिकाभित्रका युवालाई रोजगारी दिन्छौ,” उनले भने, “सङ्घीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै स्थानीय सरकारको गाउँ प्रमुखसँग रोजगार कार्यक्रम सञ्चालन गर्न लागेका हो ।”

 

यस कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले यस कार्यक्रमका लागि योजना छनोटको काम भइरहेको जानकारी दिए । वडाले छनोट गरेका योजनालाई पनि उक्त कार्यक्रममा समावेश गरेर लैजाने उनले  बताए ।

 

“योजना छनोट गरी लागत अनुमान गर्ने काम भइरहेको छ, प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै यसलाई पनि सँगै अगाडि बढाउने तयारी छ,” उनले भने । तिहारपछि सो कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बन्दीपुर गाउँपालिकामा ३६० बेरोजगार सूचीकृत भएका छन् । वडा- १ मा २९, वडा- २ मा ५६, वडा- ३ मा ८०, वडा- ४ मा १४, वडा- ५ मा ६१ र वडा- ६ मा १२० जना सूचीकृत भएका छन् । सूचीकृत भएकाहरुलाई नै गाउँ प्रमुखसँग रोजगार कार्यक्रममार्फत् काम दिने तयारी छ । 


गाउँपालिकाले “पर्यटन, कृषि, सहकारी, शिक्षा र पूर्वाधार, समृद्ध बन्दीपुर गाउँपालिका निर्माणको मूल आधार” लाई मुख्य नारा बनाएर कार्यक्रम तय गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् ।

 

गाउँपालिकाले बाँझो भूमि खेतीका लागि अनुदान कार्यक्रम, उपाध्यक्षसँग महिला सीप विकास कार्यक्रम, अध्यक्षसँग बालबालिका कार्यक्रम, एक हल गोरु एक थान हलो वितरण कार्यक्रम, विपन्न गर्भवती महिला पोषण कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

 

त्यस्तै आफ्नै स्थानीय तह आफ्नै लगानीअन्तर्गत अतिविपन्न परिवारका लागि विद्युतीय चुल्हो वितरण, एक लिटर दूध उत्पादनमा रु एक अनुदान कार्यक्रमलाई समेत प्राथमिकता दिइएको उनले जानकारी दिए ।