close

जटिल रोगका बिरामीलाई हलेसीले उपचार खर्च दिने

जटिल रोगका बिरामीलाई हलेसीले उपचार खर्च दिने

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई आर्थिक सहयोग गर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।  ९ प्रकारका विभिन्न जटिल रोग लागेर अस्पताल जान नसक्ने नगरबासीको उपचार सहयोगका लागि नगरपालिकाले ०७४ देखि आर्थिक सहयोग तथा सिफारिस कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।

 

८ फागुन ०७४ मा बसेको नगर कार्यपालिका बैठकको निर्णयअनुसार मुटु, मिर्गौला, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर्स, पार्किन्सन्, सिकलसेल एनिमियालगायतका बिरामीलाई जनही पाँच हजार रुपैयाँ दिने कार्यविधि कार्यान्वयनमा ल्याइएको नगरप्रमुख इवन राईले जानकारी दिए । 

 

‘मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई भने जनही १० हजार रुपैयाँ दिँदै आएका छौं । सामान्य बिरामी भएका नगरबासीलाई जनही २ हजार ५ सय प्रदान गरिँदै आएको छ’, नगरप्रमुख राईले भने ।

 

नगरप्रमुख संयोजकत्वको आर्थिक सहयोग तथा सिफारिस समितिको सिफारिसका आधारमा बिरामीले उपचार खर्च पाउने व्यवस्था छ । प्राप्त आवेदनका आधारमा सिफारिस समितिले उपचारका लागि आर्थिक सहयोग दिन मिल्ने/नमिल्ने, सहयोग रकमको मात्रालगायतको टुंगो लगाएर सिफारिस गर्ने गरेको छ । 

 

नगरपालिकाको आर्थिक सहयोग पाउन अस्पतालको प्रमाणित कागजात पनि पेस गर्नुपर्नेछ । ‘गम्भीर र सामान्य दुवै प्रकृतिका बिरामीलाई आर्थिक सहयोग गर्ने कार्यविधि कार्यान्वयनमा ल्याएका छौं’, नगरप्रमुख राईले भने, ‘प्राप्त आवेदनका आधारमा सिफारिस समितिले दिने रकम, दिन मिल्ने/नमिल्नेलगायत टुंगो लगाउने व्यवस्था गरिएको छ ।’ 

 

पालिकाभित्र बस्ने नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले गम्भीर रोगका लागि आर्थिक सहयोग तथा सिफारिस कार्यविधि कार्यान्वयनमा ल्याएको हो । 

 

उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउनबाट बचाउने प्रयासस्वरुप जटिल किसिमका रोगबाट पीडित नगरका बिरामीलाई सहयोग गर्ने कार्यविधि कार्यान्वयनमा ल्याइएको नगरप्रमुख राईले बताए । ‘कार्यविधिका कारण खर्च अभावमा अस्पताल जान नसक्ने बिरामीले उपचार  पाउने वातावरण बनेको छ’, राईले भने ।