close

बर्दघाटकाे सखुवानीमा उद्योग ग्राम बन्दै 

बर्दघाटकाे सखुवानीमा उद्योग ग्राम बन्दै 

Trulli
ADVERTISEMENT

नवलपरासी - पश्चिम नवलपरासीको बर्दघाट-५ सखुवानीमा उद्योग ग्राम स्थापना हुने भएको छ । संघीय सरकार उद्योग मन्त्रालयबाट उद्योग ग्राम स्थापनाका लागि प्राप्त ९२ लाख रुपैयाँबाट काम थालिएको हो ।


‘जग्गा पहिचान सकाएर भएर डिपीआर तयार हुँदै छ,’ नगर प्रमुख धीरज शर्मा बस्यालले भने, ‘अब उद्योग ग्राम निर्माण अगाडि बढ्छ ।’ एक स्थानीय तह एक उद्योग ग्राम निर्माण गरी लगानी प्रवद्र्धन गर्ने सरकारी नीतिअनुसार उद्योग ग्राम बनाइन लागेको हो । 


उद्योग ग्राममा उद्योग सञ्चालन गर्न चाहने उद्योगीहरूलाई जग्गा व्यवस्थापन तथा विभिन्न सुविधा प्रदान गरी लगानीमैत्री वातावरण निर्माण गर्ने योजना रहेको नगरप्रमुख बस्याल बताउँछन् । नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्ले खजुरा खोलाको उकासको १७ बिघामा उद्योग ग्राम बनाउने योजना तय भएको बताउँछन् ।


पूर्वमा खजुरा खोला, पश्चिममा आवादी जमिन, उत्तरमा पर्ती जग्गा र दक्षिणमा बर्दघाट बरुवा सडक पर्ने कित्ता नम्बर १०२ मा उक्त उद्योग ग्राम बनाउन लागिएको हो तयारी भएको थियो । बर्दघाट-५ का वडाध्यक्ष रेश्मीराज भट्टराईले जग्गा व्यवस्थापनको काम सकिएसँगै उद्योग ग्राम बन्ने भएपछि स्थानीय उत्साहित भएको बताए । 

 

‘जग्गा नापजाँचको काम सकियो । जग्गा व्यवस्थापन भएसँगै उद्योग ग्राम निर्माणले तीव्रता पाउँछ’, उनले भने । यसअघि जग्गा यकिन तथा प्राबिधिक पक्षको अध्ययनका लागि नापी कार्यालय परासीबाट प्राविधिकसमेत खटाइएको थियो ।


उद्योग ग्राम सञ्चालनमा आएपछि रोजगार वृद्धि हुने स्थानीयको अपेक्षा छ । ‘उद्योग ग्राम बन्ने भएपछि वडा तथा नगरमा रोजगारी सिर्जना हुने आशमा छौं । स्थानीय इन्द्र गुरुङ भन्छन्, ‘उद्योग ग्रामको फोहोर व्यवस्थापनमा भने विशेष ध्यान दिनुपर्छ ।’