close

...अनि १२ वर्षमै ३ जनाको किरिया बस्नुपर्‍यो

...अनि १२ वर्षमै ३ जनाको किरिया बस्नुपर्‍यो

Trulli
ADVERTISEMENT

मुगु - न घरमा खानानाना छ, न ओढ्ने-ओछयाउने कपडा । घरको हैरानी छँदै छ । त्यसमाथि एकै वर्ष बाबु, बाजे र बजै बितेपछि र्‍याङचेकाटी गाउँको एक परिवार विचल्लीमा परेको छ ।


मुगुको छायानाथ रारा नगरपालिका वडा- ११ र्‍याङचेकाटी गाउँको कुमाल दलित परिवारमा गरिबी त छँदै थियो, त्यसमाथि एकै वर्ष बाबु, बाजे र बजैको मृत्य भएपछि परिवारै शोकमा डुबेको छ ।बाजे, बजैसहित आठ सदस्यीय यो परिवारलाई एक वर्षअघि बाबु र बाजेले गाउँघर र अन्यत्र ज्यालादारी गरेर पाल्दै आएका थिए ।


गत वर्ष ७ असोजमा बाबु पूर्णबहादुर कुलाल (२८), २१ असारमा बाजे जयरुप कुलाल र असार १३ मै बजै चाउली कुलालको मृत्यु भएपछि घर अभिभावकविहीन भएको हो । घरका चार बालबालिकामध्ये जेठा १२ वर्षीय युवराज कुलालले बाबु र बाजेको किरियाकर्म थिए । बजै पनि बितेपछि उनै युवराज किरिया बसेका छन् ।

 

घरका अभिभावकलाई दैवले लगेपछि २५ वर्षीय आमा सौमती कुलालले युवराजसहित अन्य ३ बालबालिकालाई गाउँका छरछिमेकीसँग हारगुहार गरेर पाएको अन्नले पेट भरिदिँदै आएकी छन् ।


‘किरिया खर्च कसरी जुटाउने, छोराछोरी कसरी पाल्ने भन्नेमा उनलाई समस्या परेको छ । जसोतसो गाउँलेहरूले दैनिक माना उठाएर बजैको किरिया बसेका १२ वर्षीय बालकलाई पाल्दै आएका छन् । अन्य परिवारको विचल्ली छ’, मामा जेठबहादुर विकले भने ।


परिवारमा खानाको मात्र समस्या नभएर थातबास, ओढ्ने-ओछ्याउनेसमेत नभएको उनले बताए । ‘सधैं छरछिमेकीले कति हेर्लान्, कोही सहयोगी मन भेटिए भान्जाभान्जीको शिक्षादीक्षा र पालनपोषणमा सहयोग पुग्थ्यो’, जेठबहादुर दुःखी सुनिए ।


किरिया बसेका भान्जालाई १३ दिनको काजकिरिया सकिएपछि लगाउने एक सरो लुगासमेत छैन । ९ वर्षे छोरी झरना, ७ वर्षे छोरा विराज र २ वर्षे काखे छोरा हुर्काउने जिम्मा युवराजको काँधमा आइलागेको छ ।


युवराजकी आमा सौमती भन्छिन्, ‘घरमा खान-लाउन दुःख छ । जसोतसो श्रीमान र ससुराले कमाएर घर धानेकै थिए ।  अब उनीहरू नरहेपछि कसरी जीवन चलाउने हो ? आपद् आइलाग्यो । एकै वर्षमा तीनचोटि छोराले किरिया गर्नुपर्दा विक्षिप्त छौं ।’


अहिलेलाई वरपरकाले जसोतसो खान दिए पनि भविष्यमा के गर्ने, साना नानीबाबु कसरी पाल्ने, घरको चुहिने छानो कसरी टाल्ने भन्ने चिन्तामा सौमती छन् । अरुको काम गरेर पालिँदै आएको परिवार कमाउने, खुवाउने बितेपछि भोकभोकै बस्नुपर्ने अवस्था छ । 


राज्यले शिक्षा, स्वास्थ्य, गाँस, बास नभएकालाई हेरविचार गर्नुपर्नेमा वडा र नगरपालिकाले अहिलेसम्म चासो नदिएको सौमतीको गुनासो छ । 


‘घरको छानो छैन । हिउँदे सिजन सुरु भयो । हिउँपानी पर्ला । कहाँ जाने, के गर्ने परिवारको टुंगो छैन । स्थानीय सरकार, संघसंस्थाले सहयोग गरिदिए हातमुखसम्म जोड्न सक्थे,’ स्थानीय भन्छन् ।


गरिबदुःखीको दर्द नसुन्ने सरकारले आफूहरूलाई झनै पीडा दिएको मामा जेठबहादुर विक सुनाउँछन् ।