close

उद्यमीलाई चौतारा साँगाचोकगढीकाे २ प्रतिशत ब्याजमा ५ लाखसम्मकाे ऋण

उद्यमीलाई चौतारा साँगाचोकगढीकाे २ प्रतिशत ब्याजमा ५ लाखसम्मकाे ऋण

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक - आफ्नै गाउँमा बसेर उद्यम गर्न चाहानेहरूका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले पनि दुई प्रतिशत ब्याजदरमा पाँच लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने भएको छ । 


नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको युवा स्वरोजगार कार्यक्रमअन्तर्गत नेपाल राष्ट्र बैंकसँग अनुदान कर्जा सम्झौता गरेपछि स्वदेशमा नै उद्यम गर्नेहरूलाई न्यून ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन लागेको हो ।


जिल्लाका १२ स्थानीय सरकारमध्ये यसअघि लिसंखुपाखर गाउँपालिकाले जिल्लामा नै पहिलो पटक एक प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सुरु गरेको थियो ।    


चौतारा साँगाचोकगढी नगरपालिकले पनि नगरवासीहरूलाई स्वदेशमा नै बसेर उद्यम गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कर्जा उपलब्ध गराउन लागेको नगप्रमुख अमानसिंह तामाङले जानकारी दिए ।
    

नगरवासिलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने नेपाल बैंकसँग नगरपालिकाले सम्झौता गरेको छ । ‘बैंकसँग यससम्बन्धी सम्झौता भएको छ । अब छिट्टै कर्जा दिनका लागि आवश्यक प्रक्रिया सुरु गर्छौं’, नगरप्रमुख तामाङले भने । 
    


यस कार्यक्रमले  नगरभित्र नयाँ उद्यमी तथा व्यवसायीको संख्या बढ्ने र नगरलाई थप समृद्ध बनाउन सहयोग पुग्ने अपेक्षा राखेको उनको भनाइ थियो । नगरपालिकाका सबै वस्तीमा पुगेर जनतासँग प्रत्यक्ष छलफल गरी नयाँ कार्यक्रमहरू बनाएर विकासका कामहरू संचालन गरिने उनले बताए । 


स्वदेशमा नै बसेर कृषि, पशुपालन, घरेलु उद्योगलगायतका उद्यम गर्न चाहनेहरूका लागि यस्तो कर्जा उपलब्ध गराउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डेले जानकारी दिए । चौतारा साँगाचोकगढी नगरपालिकाले युवा स्वरोजगार प्रवद्र्धनका लागि विनियोजन गरेको एक करोड र नेपाल बैंक लिमिटेडले थप एक करोड गरी यस वर्ष दुई करोड रुपैयाँसम्म ऋण  प्रवाह हुनेछ । 


ऋण लिन चाहने नगरवासीहरूले दुई प्रतिशत ब्याजदरमा पाँच लाख रुपैयाँसम्म बैंकको नियमानुसार विनाधितो ऋण लिन सक्ने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिए । 
    

नगरपालिकाले कोरोना भाइरसका कारण रोजगारी गुमाएका, विदेशबाट फर्किएका, कृषि तथा लघु उद्यमको क्षेत्रमा स्वदेशमै व्यावसाय गर्ने योजना बनाएका युवाहरूलाई लक्षित गरी स्वरोजगार तथा उद्यम प्रवर्द्धन कार्यविधि, २०७७ बनाएर सहुलियतपूर्ण ऋण उपलब्ध गराउन लागेको हो ।
    

स्थानीय स्रोत, साधन र सीपलाई सदुपयोग गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गरी सुन्दर नगर र सुखी नगरवासीको आकांक्षा पूरा गर्न नगरपालिकाले नेपाल बैंक लिमिटेडसँग सम्झौता गरी सहुलियतपूर्ण कर्जामा व्याज अनुदान उपलब्ध  गराउन लागेको उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन् । यस वर्षको उपलब्धता हेरेर अर्काे वर्ष यसको रूपलाई अझै परिमार्जन गरिने उपप्रमुख पराजुलीको भनाइ छ ।