close

सडक मर्मत गर्दै केपिलासगढी

सडक मर्मत गर्दै केपिलासगढी

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको केपिलासगढी गाउँपालिका- ३ बाँसपानीमा सडक मर्मत सुरु गरिएको छ । वडा कार्यालय बाँसपानीले वर्षाका कारण खाल्डाखुल्डी भएका, पहिरो गएका तथा ट्र्याक्टरका कारण बिग्रेका सडक मर्मत सुरु गरेको हो । 


वडा कार्यालयमार्फत बाक्सिला-ढोकाडाँडा हुँदै खार्ताम्छा जोड्ने शहीद मार्ग, बफ्लेबाट खार्ताम्छा पुग्ने आर्यन सडक, बाक्सिलाबाट खार्ताम्छा जोड्नेलगायतका सडक मर्मत सुरु गरिएको वडा अध्यक्ष खगेन्द्र गुरुङले बताए । 


वर्षाका कारण अवरुद्ध सडकलाई वडा कार्यालयबाट विनियोजित दुई लाख रुपैयाँ रकमबाट मर्मत सुरु गरिएको हो । कच्ची सडक पुगेका टोलमा हिउँदमा सवारी साधन सञ्चालन गर्न सकिनेगरी उपभोक्ता समितिमार्फत सडक मर्मत सुरु गरिएको वडा अध्यक्ष गुरुङले बताए । 


वर्षाका कारण बिग्रे-भत्केका सडक जेसीभी लगाएर १८ कात्तिकदेखि मर्मत सुरु गरिएको हो । सडक मर्मतको काम केही दिनभित्र पूरा हुने वडा कार्यालयले जनाएको छ । बाँसपानीका प्रायः सबै टोलमा कच्ची सडक पुगेको छ ।

 

‘वर्षा याममा पहिरोले बिग्रिएका, खाल्डाखुल्डी भएका र ट्र्याक्टरले बिगारेका सडक मर्मत सुरु गरिएको हो’, वडा अध्यक्ष गुरुङले भने, ‘कम्तीमा भएका सडकमा सवारी साधन सञ्चालन होस्, सवारी साधनमार्फत नै टोलमा पुग्ने वातावरण होस् भन्ने हाम्रो लक्ष्य हो ।’