close

मलगाउँका बासिन्दाको पिडा : सडक खन्दा ऋण लाग्यो तर गाडी चढ्न पाएनन् 

मलगाउँका बासिन्दाको पिडा : सडक खन्दा ऋण लाग्यो तर गाडी चढ्न पाएनन् 

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- १ मलगाउँका बासिन्दाले १० वर्षअघि ट्र्याक खोलेको बाँसखर्क-लोप्रे हुँदै नागी जोड्ने सडकमा यातायातका साधन सञ्चालन नहुँदा यातायात सुविधाबाट बञ्चित भएका छन् ।


सडक निर्माण गर्दा लागेको ऋण तिर्न नसकेर समस्यामा परेका मलगाउँवासीको गाडी चढेर आवतजावत गर्ने रहर पनि पूरा हुन सकेको छैन । बेनीदेखि मल्लाज-बाँसखर्क-मलगाउँ-लोप्रे हुँदै नागी जोड्ने छोटो दूरीको यो सडक स्तरोन्नति र मर्मत सम्भारको अभावमा स्थानीयवासी यातायात सुविधाबाट बञ्चित भएका हुन् । 


काम विशेषले यात्रा गर्नका लागि सवारी साधन आवश्यक पर्दा महँगो भाडा तिरेर रिजर्भ गर्नुपर्ने बाध्यता रहेको सडक निर्माण समितिका अध्यक्षसमेत रहेका मलगाउँका समबहादुर तिलिजाले बताए । ‘बाटो पनि सञ्चालन हुन सकेन’, उनले भने, ‘ऋण तिर्न पनि सकिएन ।’


बाँसखर्कदेखि मलगाउँ पुग्न एक हजार ८०० देखि दुई हजार रुपैयाँसम्म तिरेर जिप रिजर्भ गर्नुपर्ने समस्या छ । बाँसखर्कसम्म भने नियमित जिप चल्छन् । मलगाउँमा ३२ र छिमेकी चिनाखेत गाउँमा १३ घरधुरीको बसोवास छ । लोप्रे हुँदै नागी आवतजावत गर्ने गाडीले मलगाउँको सडक प्रयोग गरेमा स्थानीयलाई सहज हुने थियो ।


मलगाउँ र लोप्रेको बीचको जंगलका केही ठाउँमा सुधार र मर्मत गरेमा सडकमा गाडी चलाउन सकिने तिलिजाले बताए । २०६६ सालमा बाँसखर्कको देउरालीदेखि सुरु भएको छ किलोमिटर दूरीको लोप्रे जोड्ने सडकको ट्र्याक खोल्ने काम २०६८ सालमा सकिएको थियो । 


तत्कालीन बाँसखर्क गाविसको चार लाख, संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीको सांसद विकास कोषको १६ लाख र तत्कालीन जिल्ला विकास समितिबाट सात लाख रुपैयाँ सहयोग आएको थियो । सडक बनाउन लागेको ऋण तिर्न उपभोक्ताले प्रतिघर २५ हजार रुपैयाँका दरले नगद संकलन गरेका थिए । सामुदायिक संस्था र व्यक्तिबाट ऋण लिएर सडक खनेका थिए । 


बेनीदेखि मल्लाज र शालिजा हुँदै लेकफाँटको फलामेडाँडा जोड्ने सडक करिब ३५ किलोमिटर दूरीको छ । मल्लाज-बाँसखर्क-मलगाउँ-लोप्रे हुँदै फलामेडाँडा जोड्ने सडक करिब १४ किलोमिटर छोटो छ ।


कच्ची अवस्थामा रहेको सडक साँघुरो, ग्रेड र घुम्ती तथा मोड सुधार गर्न आवश्यक छ । स्तरोन्नन्ति गरेर गाडी चल्ने बनाउनका लागि चालू आर्थिक वर्षमा जलजला गाउँपालिकाले आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले बताए ।