close

सांसदले नै अलपत्र पारे नाग्म–गमगढी १३ किलोमिटर सडक

सांसदले नै अलपत्र पारे नाग्म–गमगढी १३ किलोमिटर सडक

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगडी सडक खण्डमा एक त बजेट कम छ, अर्काेतिर भएको बजेटको ठेक्काको काम पनि ढिलाइ भएपछि नागरिकले सास्ती खेप्नुपरेको छ ।


प्रतिनिधिसभा सांसद बहादुरसिंह लामाकै फर्मबाट काम थालिएको ठाउँमा ढिला र निर्माण कार्य अलपत्र भएको हो । नाग्म–गमगडी सडकको ९३ किलोमिटरमध्ये सुरुवातकै १३ किलोमिटरसम्म प्रतिनिधिसभा सांसद लामाकै फर्मबाट काम थालिएको हो । तर, ठेक्का सम्झौता अवधिमा काम नहुँदा स्थानीयलाई सास्ती भएको छ । ठेक्का सम्झौता भएकोमध्ये आधा काम भएको र दुःख पाइएको स्थानीयले पटक–पटक गुनासो गर्दै आएका छन् ।


सडक डिभिजन कार्यालय जुम्लाका अनुसार १३ किलोमिटरमध्ये छ किलोमिटर सडक चौडा, ग्राभेल, कल्भर्ट, कजवे, ग्याबिन, मेसिनरी टेवा पर्खालको काम सम्पन्न हुन नसकी बीचैमा अलपत्र परेको हो ।


डिभिजन कार्यालय जुम्लाका कायमुकायम डिभिजन प्रमुख लीलाबहादुर भण्डारीले ठेक्काको काम तिहार अगावै सुरु नभएमा कालोसूचीका लागि पत्रिकामा नाम निकाल्ने चेतावनी दिइसकेको बताए । सांसद लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एण्ड थोकर र हीरा एण्ड नमिता जेभीको ठेक्कामा पाँच वर्षअघि काम थालिएको थियो ।  


नाग्म–गमगडी (सिंजा रारा) राजमार्गका बासिन्दासहित जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतसहितको टोलीले उक्त सडकको काम ढिलाइ हुनुको कारण र चुनौतीका विषयमा सडक डिभिजन कार्यालयमा जानकारी लिँदा सबैभन्दा समस्या सांसद लामाकै फर्मको ठेक्काको रहेको र लामो समय भइसक्दा पनि काम नहुँदा कठिन भएको सडक डिभिजनले प्रतिक्रिया दिएको छ ।   


‘काम छिटो गर्न भनेका छौँ । कालोसूचीमा राख्ने भनेर भनिसकेपछि अब काम अघि बढाउने कुराको प्रतिबद्धता भएको छ’, कार्यालय प्रमुख भण्डारीले भने । सांसद लामाले भने आफ्नो फर्म लिएर नन्दलाल श्रेष्ठले काम थालेको भए पनि अहिले सम्पर्क नभएको प्रतिक्रिया दिएका छन् ।


त्यस राजमार्गको ठेक्का सम्झौता ८ माघ २०७२ देखि ७ पुस २०७५ सम्मको थियो । दोस्रो पटक १० साउन २०७६ मा सम्झौता भएर ३० जेठ २०७७ सम्म अवधि थपिए पनि काम हुन सकेको छैन ।


१३ किलोमिटरको सम्झौता रकम १० करोड १३ लाख आठ हजार १३० रुपैयाँ ५५ पैसामध्ये सात करोड ९६ लाख १२ हजार २७६ रुपैयाँ २६ पैसा भुक्तानी भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।  


ठेक्का नम्बर ३.१–२०७४।०७५मा खड्का कृष्ण गाल्भा– दक्याराभान जेभीको राजुसिंह कठायत र तारासिंह कठायतले नाग्म–गमगडी राजमार्गको १७ देखि २५ सम्म आठ किलोमिटर जिम्मा लिएको तर आजसम्म काम सन्तोषजनक नभएको डिभिजनले जनाएको छ । सो सम्झौताको अवधि भने २१ वैशाख २०७८ सम्म रहेको छ ।


कार्यालयमा अघिल्लो आर्थिक वर्षमा ५० करोड रुपैयाँ बजेट आएको भए पनि लकडाउनका कारण १० करोड रुपैयाँको काम मात्र भएको छ भने यस वर्ष घटेर नौ करोड ७० लाख रुपैयाँ मात्र बजेट आएको छ । अब बजेटको पनि समस्या रहेको सडक डिभिजन प्रमुख भण्डारीले बताए ।


अहिलेका सडकका काम पूरा गर्न २३ करोड ५० लाख रुपैयाँ आवश्यक भएकाले त्यसका लागि पहल भइरहेको छ ।


स्थानीयवासी पूर्णप्रसाद धितालले दिएको जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायीलाई कानुनी दायरमा ल्याई राजमार्ग निर्माणलाई तीब्रता दिन कार्यालयलाई अनुरोध गर्दै फेरि पनि नसुधारिए जनता सडकमा आउने चेतावनी दिए । नेकपाका स्थानीय नेतासमेत रहेका उनले नाग्म–गमगडी राजमार्ग रारा र सिंजाका कारणले धेरै पर्यटक आएर सास्ती पाउने काम भएको बताए ।