close

धवलागिरीका पहिरो पीडितका समस्या समाधान गरिदिन प्रधानमन्त्रीलाई जनप्रतिनिधिको आग्रह

धवलागिरीका पहिरो पीडितका समस्या समाधान गरिदिन प्रधानमन्त्रीलाई जनप्रतिनिधिको आग्रह

Trulli
ADVERTISEMENT

म्याग्दी– गत असारको पहिरोका कारण अति प्रभावित म्याग्दीको धवलागिरी गाउँपालिकाका पदाधिकारीले पुननिर्माण योजनाका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।


गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल र प्रतिनिधिसभा सदस्य तथा पुर्वमन्त्री थममाया थापाको टोलीले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर पहिरोले पु¥याएको क्षति र गाउँपालिकाको समस्याका बिषयमा जानकारी गराएका छन् ।


पहिरोका कारण घरबास गुमाएका नागरिकको पुर्नबास, जोखिमयुक्त बस्तीको स्थानान्तरण र क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि बिशेष बजेट तथा योजनाको व्यवस्थापन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उपाध्यक्ष छन्त्यालले बताए ।


उनका अनुसार आवास पुनर्निर्माणको लागि मात्रै करिब ८ करोड बढीको लागत अनुमान तयार गरिएको र संघीय सरकार मार्फत छिट्टै आबश्यक बजेट पठाउन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

 

टहरामा भएका नागरिकलाई सुरक्षित घरको छानोमुनी ल्याउन पालिकाको स्रोतले नथेग्ने भएकाले संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष पुनले बताए । प्रधानमन्त्री ओलीले पुननिर्माणको कार्य म्याग्दीबाटै सुरु गर्ने सरकारले तयारी गरेको बताए  ।


गत असारको पहिरोले यस गाउँपालिकाको मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए । पहिरोले वडा नम्बर ७ धारापानीको किसानी माविमा भवनहरु भत्कन थालेकाले सो विद्यालयलाई सुरक्षित स्थापनमा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।


धवलागिरीको वडा नम्बर ६ मराङमा २४, वडा ७ ताकम, धारापानी, काफलडाडामा ३१ र ५ नम्बर वडा मल्कबाङमा ५ घर पूर्ण रुपमा क्षति भएको छ । गाउँपालिकाका अनुसार ६० घर पूर्ण, ७२ घर घर आंशिक क्षति भएका छन ।

 

जोखिमयुक्त सहित धवलागिरी गाउँपालिकाको १५ वटा बस्तीका २०९ घर पुननिर्माण र स्थानान्तरण गर्न सिफारिस भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र जिल्लाबाट प्रतिनिधित्व गर्ने सासदलाई समेत यस अघि नै बजेट व्यवस्थापनका लागि छलफल गरिसकेको गाउँपालिकाले जनाएको छ ।