close

रुकुम पश्चिमका ३ पालिकाले भेट्टाएनन् राजस्व असुलीको लक्ष्य

रुकुम पश्चिमका ३ पालिकाले भेट्टाएनन् राजस्व असुलीको लक्ष्य

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - रुकुम पश्चिमका तीन स्थानीय तहले मात्र आर्थिक वर्ष ०७६/७७ मा राजस्वको असुलीको लक्ष्य भेट्याएका छन् । ६ मध्ये तीन स्थानीय तहले मात्र राजस्वको लक्ष्य पूरा गरेका हुन् । जिल्लाको आठबिसकोट नगरपालिका, बाफीकोट र त्रिवेणी गाउँपालिकाले लक्ष्यअनुसारको राजस्व संकलन गरेका हुन् । 

 

स्थानीय तह स्थापना भएको सुरुका वर्षदेखि नै लक्ष्यअनुसारको राजस्व संकलन गरिरहेको आठबिसकोट नगरपालिकाले बितेको आवमा पनि लक्ष्य भेट्याएको जनाएको छ । नगरपालिकाले गत वर्ष ३ करोड ५० लाख राजस्व संकलनको लक्ष्य लिएकामा ३ करोड ६८ लाख ४९ हजार ५ सय ६८ रुपैयाँ राजस्व संकलन गरेको छ ।

 

‘सुरुका वर्षदेखि नै राजस्व संकलनलाई कडाइसाथ लागू गरिएपछि बर्सेनि लक्ष्य बढाउँदै लगेको र हरेक वर्ष पूरा भइरहेको छ’, नगरप्रमुख गोर्खबहादुर केसीले भने । 


५० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको त्रिवेणी गाउँपालिकाले ६३ लाख ८५ हजार ८ सय ३४ रुपैयाँ उठाएको छ । लक्ष्यभन्दा २७.७१ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको गाउँपालिकाको दाबी छ ।


 बाफीकोट गाउँपालिकाले पनि लक्ष्यभन्दा बढी राजस्व उठाएको छ । वार्षिक आन्तरिक राजस्व अनुमान लक्ष्यभन्दा ७४.८ प्रतिशत बढी अर्थात् ३४ लाख ९६ हजार संकलन गरेको छ । गाउँपालिकाले यसलाई बढाएर यो वर्ष ३५ लाख संकलनको लक्ष्य लिएको छ । 

 

मुसीकोट र चौरजहारी नगरपालिका एवं  सानीभेरी गाउँपालिकाले भने लक्षअनुसारको राजस्व उठाउन सकेका छैनन् । जिल्लामै सबैभन्दा बढी ४ करोड राजस्वको लक्ष्य लिएको चौरजहारी नगरपालिकामा त्यसको आधाभन्दा पनि कम १ करोड ८० लाख मात्र राजस्व उठेको छ ।

 

नगरपालिकाको आन्तरिक स्रोतभन्दा बढी राजस्व प्रक्षेपण गरिएका कारण त्योअनुसार संकलन हुन नसकेको हो । यस्तै, २ करोड ५० लाख आन्तरिक राजस्व अनुमान गरेको मुसीकोटमा १ करोड १९ लाख र ७१ लाख ८८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको सानीभेरीमा ३७ लाख ५६ हजार ७ सय राजस्व उठेको छ ।

 

जिल्ला सदरमुकाम मुसीकोटले भने प्रशस्त स्रोत हुँदाहुँदै पनि राजस्वको लक्ष्य पूरा गर्न नसकेपछि चालू वर्षमा घटाएको छ । सदरमुकाममा राजस्वको दायरालाई फराकिलो पार्न सकिने भए पनि नगरपालिकाले हालसम्म लक्ष्यअनुसारको राजस्व उठाउन नसकेको हो ।

 

गत वर्ष लिएको राजस्वको लक्ष्य २ करोड ५० लाखलाई यो वर्ष १ करोड ५० लाखमा झारेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले जानकारी दिए ।

 

पूरा नभए पनि सानीभेरीले राजस्वको लक्ष्य बढाएको छ । गत वर्ष ७१ लाख ८८ हजार राजस्वको लक्ष्य लिएको गाउँपालिकाले त्यसलाई बढाएर ९० लाख पुर्‍याएको हो ।