close

जनप्रतिनिधि नमिल्दा मुखियापट्टी बजेटबिहीन, कर्मचारीले पाएनन् ७ महिनाकाे तलब

जनप्रतिनिधि नमिल्दा मुखियापट्टी बजेटबिहीन, कर्मचारीले पाएनन् ७ महिनाकाे तलब

Trulli
ADVERTISEMENT

धनुषा - धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले चालू आर्थिक वर्षको बजेट ल्याउन नसक्दा पालिकाका कर्मचारीहरूले तलब पाउन सकेका छैनन् ।


गाउँपालिकाको गाउँसभा सम्पन्न भए पनि जनप्रतिनिधिबीचको विवादका कारण बजेट आउन नसक्दा पालिकाका शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीले ७ महिनादेखिको तलब पाउन नसकेका हुन् । काम गरेको दाम नपाएपछि कर्मचारीले आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् । 

 

मुखियापट्टीका वासिन्दाले आफैंले चनिपठाएका जनप्रतिनिधिका मुखिया पालिका अध्यक्षलाई टोलछिमेक, खेतबारी जहाँ भेट्यो, त्यहीँ नै प्रश्न सोध्ने गरेका छन्- चालू आर्थिक वर्षको बजेट कहिले आउँछ अध्यक्षज्यू ! तर, पालिका अध्यक्ष नाजवाफ सुनिन्छन्, उनीसँग उत्तर दिने शब्दै भेटिन्न । ।

 

पालिकामा रहेका विद्यालयमध्ये मावि तहमा ६ र प्रावि तहमा ८, बालविकासतर्फका ८२ र १२ कर्मचारीले अहिलेसम्म तलब पाएका छैनन् । यस्तै, गाउँपालिकमा प्रावि तथा मावि गरी कुल ११ विद्यालय र चार स्वास्थ्य चौकी छन् ।

 

गत जेठदेखि ३५ स्वास्थ्यकर्मीको तलब, दसैं पेस्की र क्वारेन्टाइनमा खटेकाहरूको जोखिम भत्ता बाँकी छ भने प्राथमिक विद्यालयका शिक्षकले असारदेखिको तलब र माध्यमिक विद्यालयका शिक्षकको गत वैशाखदेखिको तलब फस्र्योट हुन सकेको छैन ।


आन्तरिक विवादका कारण चालू आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा पनि बजेट आउन नसकेको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरले जानकारी दिए । ‘गाउँसभामा जनप्रतिनिधि र बोर्ड सदस्यबीच कुरा मिल्न नमिल्दा बजेट आउन नसकेको हो’, ठाकुरले भने ।

 

शिक्षक तथा स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीले तलबका लागि ताकेता गर्न थालेपछि अध्यक्ष मनोज यादव र उपाध्यक्ष मीरादेवी महतो गाउँपालिका कार्यालय आउनै छाडेको पालिकामा कार्यरत एक कर्मचारीले नाम नखोल्ने सर्तमा बताए । पालिकामा जनप्रतिनिधिबीचको आन्तरिक विवाद समाधान नभएसम्म बजेट आउने सम्भावना टर्दै गएको प्रमुख प्रशासकीय अधिकृत ठाकुरको भनाइ छ ।


उनले भने, ‘कोरोना महामारीको विषम परिस्थितिमा समेत खटेका स्वास्थ्यकर्मीले तलब पाउन अझै केही दिन कुर्नुपर्नेछ । स्वास्थ्यकर्मीले पालिकामा पटक-पटक तलब माग्न जाँदा गाउँपालिका अध्यक्ष यादवले अख्तियारी नदिएपछि भुक्तानी गर्न नसकिएको हो ।’


गाउँपालिकाअन्तर्गत रहेका कर्मचारीले दसैंमा समेत तलब,  पेस्की र जोखिम भत्ता नपाएपछि धनुषा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । प्रशासनले पनि उही रेडिमेड जवाफ दियो-गाउँपालिकाको आन्तरिक मामिला हामीले हस्तक्षेप गर्न सक्दैनौं ।

 

तर, गाउँपालिका अध्यक्ष यादव भने एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउन छाडेकाले बजेट ल्याउन नसकेको दाबी गरेका छन् । कोरोना कहरमा ज्यानको पर्बाह नगरी काममा खटिएका स्वास्थ्यकर्मीलाई समयमै तलब दिन नसक्ने जनप्रतिनिधि र कर्मचारीले तत्काल राजीनामा दिनुपर्ने माग गाउँबासीको छ ।