close

गाउँको सरकार संक्रमितका घर डुल्दै, केन्द्रको सरकार शुल्क असुल्दै

गाउँको सरकार संक्रमितका घर डुल्दै, केन्द्रको सरकार शुल्क असुल्दै

Trulli
ADVERTISEMENT

रुपन्देही– बुटवल उपमहानगरले कोरोना संक्रमित भई होम आइसोलेसनमा  बसेका नगरबासीलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ ।

 

उपमहानगरका जनप्रतिनिधिले कोरोना संक्रमित नगरबासीका घरमै पुगेर भिटामिन बी, सी, डी, ई, अमला र गिलोयेका चूर्ण, जिंक ट्बालेट, पेन्टाप्राजोल ट्याबलेट र सिटामोलसहितका औषधी उपलब्ध गराएका हुन् ।

 

ती सहयोग सामग्री हालसम्म ७ सय ४१ जनाको घरमै पुगेर वितरण गरिएको उपमहानगरले बताएको छ । कोरोना संक्रमित भई होम आइसोलेसनमा बस्नेहरूले छिमेकीको सहमति र सम्बन्धित टोल विकास संस्थाको सिफारिससहित वडा कार्यालयबाट होम आइसोलेसनमा बस्ने पत्र बनाउनुपर्ने उपमहानगरको नियम छ ।

 

कोरोना बिमाका लागि सोही पत्रको आधारमा मात्र यसको सिफारिस गरिने समेत गरिने बुटबल उपमहनगरपालिकाले जनाएको छ । उपमहानगरले कोरोना संक्रमण निरन्तर बढ्दै गएपछि  नगरभित्र स्वासप्रश्वासमा समस्या भएका संक्रमितलाई घरमै अक्सिजन सिलिन्डर पु¥याउने तयारी गरेको छ ।

 

नगरपालिकाभित्र होम आइसोलेसनमा बस्नेहरूको संख्या बढ्दै गएको र होम आइसोलेसनमा बस्नेहरूमा जटिल समस्या देखिन थालेपछि उपमहानगरले आपतकालीन अवस्थामा घरसम्मै अक्सिजन ग्यास उपलब्ध गराउने तयारी थालेको हो ।

 

‘होम आइसोलेसनमा रहेकाहरूको स्वास्थ्यमा जटिल समस्या देखिने र कतिपयको मृत्यु हुन थालेपछि घरमै अक्सिजनको सिलिन्डर पु¥याएर बिरामीलाई स्वास्थ्यलाभका लागि सहयोग गर्ने तयारी थालेका छौं’, उपमहानगर प्रमुख शिवराज सुवेदीले भने ।

 

अहिले होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योगा र आयुर्वेद औषधी वितरण, एम्बुलेन्स तम्तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

 

नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक औषधी पु¥याएको उपमहानगरले अहिले तिनै रोगबाट ग्रसितहरूको अवस्थालाई ध्यानमा राखेर अक्सिजनसहितको स्वास्थ्य सेवा पु¥याउने तयारी गरिरहेको सुवेदी बताउँछन् ।

 

यसका लागि उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन ग्यास उत्पादकसँग छलफल गर्न प्रमुख सुवेदीले निर्देशन दिइसकेका छन् ।

 

‘ग्यास उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक अध्ययनसँगै प्रक्रिया अगाडि बढाएका छौं’, प्रमुख सुवेदीले भने ।

 

उपमहानगरका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीको सेवालाई थप व्यवस्थित गराएर स्वास्थ्य संस्थामार्फत वडा तहको सहकार्यमा संक्रमितको नियमित स्वास्थ्य निगरानी सुरु गरिएको छ । यसका लागि उपमहानगरले वडा तहमै तत्काल रेस्पोन्स टिम बनाउने तयारी थालेको छ ।

 

प्रमुख सुवेदीले जनस्वास्थ्यको क्षेत्रमा उपमहानगर जिम्मेवार रहँदै आएको बताउँदै उपलब्ध रहेका साधन–स्रोत अभावमा कसैको पनि अकालमा ज्यान नजाओस् भनेर थप संवेदनशील बनेको बताए । समयमै आइसियु बेड नपाउँदा आप्नै कर्मचारीको कोरोना संक्रमणबाट निधन भएपछि उपमहानगरका जनप्रतिनिधि थप सचेत बनेका हुन् ।

 

बुटवल उपमहानगर– ११ का वडाध्यक्ष रामचन्द्र खनाल कोरोना संक्रमितका घरघर नगरपालिकाले स्वास्थ्य लाभको कामनासहितको कार्ड, भिटामिन र आयुर्वेद औषधी लिएर बुटवलका ७ सय  घर पुगिएको बताउँछन् ।