close

सीप हस्तान्तरण नहुँदाकाे पीडा: मासिए लोहारका आरन

सीप हस्तान्तरण नहुँदाकाे पीडा: मासिए लोहारका आरन

Trulli
ADVERTISEMENT

बैतडी - बैतडीका लोहार समुदायको पुर्ख्याैली पेसा आरन व्यवसाय संकटमा पर्न थालेको छ । सीप हस्तान्तरण नहुँदा र राज्यको आँखा नपुग्दा आरन व्यवसाय नासिने अवस्थामा पुगेको हो ।


आरन व्यवसायलाई व्यावसायिक बनाउन नसक्दा संकटमा परेको दशरथचन्द नगरपालिका-४ जर्गका गौरीराम लोहारले बताए । धातुका आकर्षक भाँडाकुँडा बनाउने सीप भए पनि यसलाई व्यावसायिक बनाउन नसक्दा नासिने अवस्थामा पुगेको उनको गुनासो छ 


लोहारले भने, ‘हामी पुर्खादेखि यो पेसा अँगाल्दै आएका छौं । हामीलाई घरमा दैनिक प्रयोग हुने भाँडाकुँडा, कृषि औजारदेखि बिहे-व्रतबन्ध र मन्दिरमा चढाइने पालासम्म बनाउने सीप छ । यो सीप कसैले नहेरिदिएपछि लोप हुनै लाग्यो ।’ भाँडाकुँडाको बजार माग राम्रो भए पनि बनाउँदा मिहिनेत बढी लाग्ने हुँदा मागअनुसार उत्पादन बढाउन नसकेको उनको दाबी छ ।

 

अर्का स्थानीय नवराज लोहार भन्छन्, ‘भाँडाकुँडा बनाउँदा ठोस धातुलाई पगालेर तरल पदार्थ बनाइनुपर्छ । त्यसपछि सेलाउन दिएर घनले पिटुनुपर्छ । यसमा  मिहिनेत र कला धेरै लाग्छ । अतः  आधुनिक औजार कतैबाट प्राप्त आरन व्यवसाय आधुनिक हुने थियो । तर, कसैले हेरेनन् ।’ 


दशरथचन्द नगरपालिका- ४ जर्गका लोहार समुदायले निर्माण गरेका जर्गाली गाग्री चर्चित छ । मेला र बजारमा जर्गाली गार्गीको धेरै माग छ तर उत्पादन निकै कम गर्न सकिने स्थानीय नारायणराम लोहार सुनाउँछन् ।


उनले भने, ‘४० वर्षदेखि आरन व्यवसाय गर्दै आएको छ । बाजे, बुबा निकै सिपालु थिए  । मैले पनि यही पेसाबाट जीविका चलाएको छु । स्थानीय सरकारले हाम्रो पेसालाई हेरिदिए नास हुनबाट बचाउन सकिन्थ्यो ।’


दशरथचन्दमा चार जर्गका ४० परिवारले आरन व्यवसाय गर्दै आएकामा अहिले पाँच-सात परिवारले मात्रै यसलाई धानेका छन् । यी परिवारका युवाले भने यो पेसालाई त्यागिसके । 


लोहार समुदायका आरन व्यवसायीबाट दशरथचन्द नगरपालिकालाई निवेदन दिनेबाहेक अरु गतिविधि नभएको नारायणराम बताउँछन् । तर, आरन व्यवसाय प्रवर्द्धन गर्न अहिलेसम्म कुनै कार्यक्रम तय नभएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए ।